श्रीराम दाहाल, प्रधानाध्यापक श्रमिक मावि

विद्यालयमा चालु शैक्षिकसत्र अन्तिम चरणमा छ । वार्षिक परीक्षा सकिएर विद्यार्थीको मूल्यांकनको प्रक्रिया अगाडि बढेको छ । यसका साथै आगामी शैक्षिक सत्रका लागि पनि योजना बनाउनु पर्नेछ । तर, अधिकांश विद्यालयमा शैक्षिक मूल्यांकन र योेजना निर्माणको पाटो कमजोर देखिन्छ । विद्यालयका प्रधानाध्यापकको क्षमताका आधारमा समग्र शैक्षिक सुधारको आधार तयार हुन्छ । चालु शैक्षिक सत्रको समीक्षा र आगामी योजनाको विषयमा रहेर हेटौंडा–४, कर्रास्थित श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहालसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

चालु शैक्षिक सत्रमा श्रमिक माविमा के–कस्ता शैक्षिक अभ्यासहरु भए ?

दाहालः अहिले हामी शैक्षिकसत्र २०७९ को अन्तिम महिनामा छौँ । अहिले विद्यालयमा अन्तिम परीक्षा सञ्चालन भइरहेको छ । शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै हामीले विद्यालय व्यवस्थापक, पिटीए र स्टाफहरुसँग बसेर छलफल गरी बर्षभरिको शैक्षिक योजना र कार्यपात्रो बनाएका थियौँ । सोही अनुसार हामीले अनुशासनको पाटो जस्तै ड्रेस, कपाल, सरसफाई लगायतका दैनिक कार्यहरुबाट सुरुवात गर्‍यौँ । यो शैक्षिक सत्रमा हामीले केही नयाँ अभ्यासहरु गर्‍यौँ र केही अधुरो रहेका कामहरु हामी भावी दिनमा गर्नेछौँ । शैक्षिक क्यालेण्डरअनुसार काम गर्दै जाँदा विद्यार्थीहरुको पठनपाठनको साथै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय भई पुरस्कार जित्ने क्रम पनि बढेको छ । हामीले खाली घण्टीका लागि शिक्षकहरुको व्यवस्था र हरेक शनिबार परीक्षा लिने व्यवस्था पनि गर्‍यौँ । यी शुरुवाती कामहरुले श्रमिक माविको शैक्षिक गुणस्तरमा वृद्धि भएको र सिकाई प्रक्रियामा पनि सुधार भएको महसुस भएको छ ।

मकवानपुर जिल्लाभरका शैक्षिक गतिविधिलाई हेर्दा शैक्षिक सत्र २०७९ को सकारात्मक क्रियाकलापहरु के–के देख्नुभएको छ ?

दाहालः संघीयता लागु भएसँगै शिक्षालाई स्थानीय तहमा हस्तान्तरण गरिसकेपछि हामीले अपेक्षा गरेजस्तो शिक्षामा सुधार भएको छैन । शिक्षालाई स्थानीय तहमा हस्तान्तरण गरिसकेपछि मकवानपुरको १० वटै पालिकाको शैक्षिक क्षेत्रमा हुने अनुगमन एकदम फितलो भएको देखिन्छ । स्थानीय तहमा आएपछि शिक्षाको गुणस्तरमा जति सुधार हुनुपर्ने हो त्यति भइरहेको छैन । सकारात्मक पक्षका रुपमा हेर्दा स्थानीय तहबाट नै बजेट विनियोजन हुने हुँदा विद्यालयको आवश्यकता मागलाई स्थानीय तहले सम्बोधन पनि गर्दै आएको छ ।

तपाईको विचारमा शैक्षिक गुणस्तर सुधार गर्नका लागि पालिकाले के–के गर्नुपर्छ ?

दाहालः शिक्षाको विकास बिना अन्य विकास सम्भव नभएकाले शैक्षिक गुणस्तर सुधार गर्नका लागि पालिकाले पहिले त शिक्षामा लगानी गर्नुपर्छ । त्यस्तै शिक्षकहरुलाई उत्प्रेरणामूलक विभिन्न कार्यक्रम मार्फत हौसला प्रदान गर्न सक्नुपर्दछ । शैक्षिक उपलब्धि हासिल गर्नका लागि शिक्षकहरुलाई आधुनिक प्रविधिसँग जोडेर उत्प्रेरणा दिने खालको कार्यक्रमहरु पालिकाले सञ्चालन गर्नुपर्दछ । विद्यालयभित्रका सामान्य आर्थिक समस्याहरुलाई पनि पालिकाले समाधान गरिदिनुपर्दछ ।

विद्यालयको आवश्यकतालाई तपाइहरुले ध्यानाकर्षणको रुपमा पालिकालाई कत्तिको अवगत गराइरहनुभएको छ ?

दाहालः हामी जिल्लाका १० वटै पालिकाका स्थानीय कमिटीहरु सक्रिय रहेका छौँ । स्थानीय सरकारको बजेट बनाउने समयभन्दा अगाडि नै १० वटै पालिकाका कमिटी बसेर छलफल गरी सबै आवश्यकतालाई राखेर हामीले पालिकालाई ध्यानाकर्षण गर्दै आएका छौँ । उपमहानगरपालिकाको प्रधानाध्यापकको बैठकमा जाँदा पनि हामीले प्रधानाध्यापकको हैसियतले पटक–पटक यो कुरा उठाउँदै आएका छौँ । तर कार्यान्वयन तहले हामीले उठाएका विषयवस्तुलाई प्राथमिकतामा राखेको भने पाइँदैन । स्थानीय सरकारले भौतिक पूर्वाधारमा लगानी गर्ने तर शिक्षामा लगानी नगर्ने परिपाटी अहिले पनि देखिन्छ । त्यस्तैगरी पालिकाभित्र हुने प्रधानाध्यापक बैठकहरु पनि उपलब्धिमूलक भएको पाइँदैन ।

विद्यालयका प्रधानाध्यापकहरुले ध्यान दिनुपर्ने कुराहरु के–के हुन्छ ?

दाहालः विद्यालयको प्रधानाध्यापक भइसकेपछि इच्छाशक्ति, मिहिनेत र नेतृत्व गर्ने क्षमता हुनुपर्दछ । प्रधानाध्यापकले शिक्षणलाई पेशाको रुपमा लिने र महिनावारी तलब लिने रुपमा मात्र सोँच्नुहुँदैन । प्रधानाध्यापकले विद्यालयलार्ई घरको रुपमा लिई चिन्तन र मनन् गरेर व्यवस्थापन गर्न सक्नुपर्छ । विद्यालयको शैक्षिक प्रगति, आर्थिक र भौतिक लगानी खोज्ने, अभिभावकसँग अन्तरक्रिया गर्ने, विद्यालय व्यवस्थापन समितिसँग छलफलमा जुटिरहनु पर्दछ । शिक्षक साथीहरुसँग सहकार्य गरी अघि बढ्ने, उहाँहरुको समस्या सुन्ने र समाधान गर्न सधै तत्पर रहनुपर्छ ।

प्रधानाध्यापकले अन्य शिक्षकहरुलाई नेतृत्व शक्ति, ज्ञान, सीप र कौशलको हस्तान्तरण अभ्यास कत्तिको भएको देखिनुभएको छ ?

दाहालः नेतृत्व विकासको सन्दर्भमा राइट्स र लोड दुवै हस्तान्तरण गर्नुपर्छ भन्ने मान्यता रहेको छ । त्यसैले हामीले विद्यालयमा पद श्रृङ्खला बनाएका छौँ । जहाँ सहायक प्रधानाध्यापक, विषयगत प्रमुख र तहगत संयोजक साथीहरु हुनुहुन्छ । उहाँहरुलाई अधिकारसहितको नेतृत्व प्रदान गर्ने प्रयास गर्दैछौँ । अधिकारसहितको नेतृत्व पाएपछि उहाँहरुले सिक्ने र काम गर्न ऊर्जा प्राप्त गर्नुहुन्छ ।

साताको एक दिन शनिबार आराम गर्नुपर्ने दिनमा पनि परीक्षा लिनुको कारण के हो ?

दाहालः सामुदायिक विद्यालयमा पढाई नै हुन्न, वा कम पढाई हुन्छ जस्ता समुदायिक विद्यालयप्रति नकारात्मक टिप्पणी गरेको पाइन्छ । त्यसलाई सुधार गर्नका लागि पनि हामीले परीक्षाका लागि शनिबार रोजेकाहौँ । शनिबार पनि विद्यार्थीहरु विद्यालय पोशाकमा देखेपछि समुदायको भावना सामुदायिक विद्यालयप्रति सकारात्मक बन्दै जान्छ भन्ने हाम्रो धारणा रहेको छ ।

आगामी शैक्षिक सत्रमा समग्र सामुदायिक विद्यालयहरुले के–के कुरामा ध्यानमा राखेर शैक्षिक योजना बनाउनुपर्छ ?
दाहालः आगामी शैक्षिक योजनामा विगतका शैक्षिक सत्रका राम्रा कुरालाई अनुशरण गरी त्यसलाई नियमितता दिने र कमजोरी पक्षलाई सुधार गर्दै जानुपर्छ । अभिभावक तथा समुदायमा गएर अन्तरक्रिया गरी जनचासोलाई आगामी शैक्षिक योजनाले समेट्नुपर्छ । आवश्यकता अनुसार विभिन्न तहमा छलफल गरी वार्षिक कार्ययोजना र शैक्षिक क्यालेण्डर तयार गरी अगाडि बढ्नुपर्छ ।