दीनानाथ गौतम, प्रमुख शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर

यस बर्षको विद्यालय शिक्षा परीक्षा (एसईई) यही चैत १७ गते शुक्रबारदेखि सुरु हुँदैछ । एसईईमा सहभागी हुनका लागि मकवानपुर जिल्लाको दुर्गम क्षेत्रका विद्यार्थी जिल्ला सदरमुकाम हेटौंडा धाउन बाध्य छन् । परीक्षाकेन्द्र विद्यार्थी केन्द्रित र विद्यार्थीको सहजताका लागि हुन नसकिरहेका बेला समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमसँग परीक्षा केन्द्र निर्धारणको विषयमा गर्नुभएको कुराकानीः

एसईईका लागि परीक्षा केन्द्र निर्धारण गर्ने आधारहरु के–के हुन् ?

गौतमः परीक्षा केन्द्र निर्धारणको पहिलो आधार भौतिक पूर्वाधार हो । भौतिक पूर्वाधारभित्र कक्षाकोठा, फर्निचर, शौचालय र खानेपानी आदि पर्दछन् । त्यस्तै परीक्षा केन्द्र निर्धारणको अर्काे आधार भनेको विद्यार्थी संख्या हो । एउटा केन्द्रमा कम्तीमा विद्यार्थीको संख्या २०० जना हुनुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ । त्यसैको आधारमा परीक्षा केन्द्र निर्धारण हुन्छ ।

जिल्लाका दुर्गम क्षेत्रका विद्यार्थीहरु परीक्षा कै लागि सदरमुकाम आउनुपर्ने बाध्यता हटाउनका लागि यो मापदण्ड भन्दा फरक तरिकाले काम गर्न सकिने अवस्था रहन्छ ?

गौतमः भौगोलिक कठिनाई भएको ठाउँमा विद्यार्थी संख्यामा हामी केही लचिलो गर्न सक्छौँ । तर होम सेन्टर नरहने प्रावधान रहेको कारणले पूर्वाधार भएको विद्यालयमा सेन्टर राख्दा त्यहाँका विद्यार्थीहरु अर्काे विद्यालय वा अर्काे परीक्षा केन्द्र जानुपर्ने हुन्छ । जसका कारण परीक्षार्थी संख्या न्युन हुन जान्छ । र त्यस्तो विद्यालयमा परीक्षा केन्द्र रहन सक्ने अवस्था हुँदैन ।

यस पटक मकवानपुरगढी गाउँपालिकामा एउटा परीक्षा केन्द्र थप निर्धारण गर्नुभयो । अरु पालिकाहरुले के गयो भने तपाईहरुले ती क्षेत्रमा पनि परीक्षा केन्द्र थप गर्न सक्नुहुन्छ ?

गौतमः यसका लागि पालिकाले भन्दा पनि केन्द्रबाट नै होम सेन्टर रहने व्यवस्था गरियो भने अन्य पालिकाले पनि परीक्षा केन्द्र प्राप्त गर्न सक्छन् ।

परीक्षा केन्द्र टाढा हुँदा विद्यार्थीले भोग्नुपरेको समस्याहरु के–के छन् र तपाईहरुले यसलाई कसरी हेरिरहनुभएको छ ?

गौतमः परीक्षा केन्द्र नजिक हुँदा घरबाट नै परीक्षा दिन पाउने, खाने–बस्ने जस्ता सबै सुविधाहरु पाउँछन् । टाढा परीक्षा केन्द्र हुँदा चाँहि विद्यार्थीले किताब, झोला, लुगा, खानेकुरा सबै व्यवस्थापन गर्नुपर्ने हुनाले विद्यार्थीहरुलाई कठिनाई छ । कठिनाई भए तापनि कतिपय अभिभावकले आफ्नो बालबालिकालाई आफ्नो ठाउँमा भन्दा बजारमा आएर कोचिङ लिएर यही परीक्षा दिने व्यवस्था होस् भन्ने चाहानुभएको पनि देखिन्छ ।