हेटौंडाः बारा जिल्लाको सिमरामा जारी १३ औं जितपुर–सिमरा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा आज बुधबार मकवानपुर–११ ले ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पासँग खेल्दैछ । दिवा–रात्रीकालिन खेलमा मकवानपुरले विभागीय क्लबको सामना गर्न लागेको हो ।
मकवानपुर–११ मा युवा खेलाडीको बाहुल्य छ । मकवानपुर–११ को प्रशिक्षकमा ज्ञानु क्षेत्री रहनुभएको छ । मकवानपुर–११ ले गत शनिबार भरतपुर फुटबल क्लब (बीएफसी) लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ ।
चैत्र १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद १० लाख रुपैयाँ र उप बिजेताले नगद ५ लाख रुपैयाँ पाउनेछन् । रात्रीकालिन समयमा फ्लड लाईटमा आयोजना भएको प्रतियोगितामा यसबर्ष फुड फेस्टिबलको आयोजना गरिएको छ । आयोजक क्लबसँगको सहकार्यमा होटल तथा पर्यटन व्यवसायी संघ बाराले फुडफेस्टिबलको आयोजना गरेको हो । फुड फेस्टिबलमा खानाका बिभिन्न परिकारका स्टल राखिएको छ ।