हेटौंडाः बागमती प्रदेश सरकारको उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव गोविन्द रिजालले सहकारीका सदस्यमा विश्वासको संकट देखा पर्न नदिन वास्तविक अवस्थाबारे सदस्यलाई जानकारी गराउन आग्रह गर्नुभएको छ । शुक्रबार हेटौंडामा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको आयोजनामा सहकारी संस्थामा वित्तीय स्थिरताका लागि जोखिम व्यवस्थापनमा सरोकारवालाको भूमिका विषयक बहसमा सचिव रिजालले सहकारीका सदस्यमा विश्वास जगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सहकारीको वित्तीय अवस्थाका बारेमा सदस्यले जानकारी प्राप्त गर्ने अवसर रह्यो भने जोखिम कम हुने उहाँको भनाइ थियो । बचत संघले एकदिवसीय कार्यशाला तथा सर्वपक्षीयको आयोजना गरेको हो । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको बहसमा रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले सहकारीको स्वनियमनको पाटोलाई सवल बनाउन आग्रह गर्नुभयो । उहाँले काठमाडौंका सहकारीमा देखिएका समस्याका बारेमा जानकारी गराउनुभयो । सहकारी सञ्चालक, व्यवस्थापकको भूमिकामा रहेर बदमासी गर्नेहरु विरुद्ध अहिले रजिष्ट्रारको कार्यालयमा उल्लेख्य संख्यामा गुनासा तथा उजुरी दर्ता हुने गरेको रजिष्ट्रार ज्ञवालीले जानकारी दिनुभयो । स्वनियमनको पाटोमा ध्यान दिनुपर्नेमा जोड दिनुहुँदै रजिष्ट्रार ज्ञवालीले भन्नुभयो, “प्रदेश सरकारमातहत ३ हजार ३ सय २६ वटा सहकारी छन् । यसलाई नियमन गर्ने हामी ४ जना कर्मचारी छौं । एकजनाको भागमा ८ सय ३१ वटा सहकारी पर्छ । कसरी काम गर्ने भन्नेमा अन्यौलमा छौं ।”
बहसमा सहभागी हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा अध्यक्ष जुना दाहालले पछिल्लो आर्थिक संकट र केही सहकारीमा देखिएको समस्याका विषयमा कार्यपालिका बैठकमा छलफल नभएको जानकारी दिनुहुँदै आगामी दिनमा कार्यपालिका बैठकमा सहकारीका मुद्दालाई छलफलमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । हेटौंडा उपमहानगरपालिकाको सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेलले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले हेटौंडा उपमहानगरपालिकासँगको सहमति बिना नै सञ्चालनमा रहेको भन्ने विषयमा समस्या सिर्जना भएपछि मात्रै थाहा पाएको जानकारी दिनु हुँदै स्थानीय तहबाट कमजोरी भएको स्वीकार्नुभयो ।
कार्यक्रममा संघकी अध्यक्ष कल्पना श्रेष्ठले देशव्यापी आर्थिक संकटको स्थिति रहे पनि जिल्ला बचत तथा ऋण सहकारी संघमा आवद्ध सहकारीमा वित्तीय स्थितरता कायम रहेको जानकारी गराउनुभयो । संघमा आवद्ध प्रारम्भिक सहकारीसँग १७ दशमलव १९ प्रतिशत तरलताको अवस्था रहेको र संस्थागत पुँजी ७ दशमलव १० प्रतिशत रहेकोले सहकारीमा आर्थिक स्थिरता कायमै रहेको उहाँको भनाइ थियो । संघले सदस्य सहकारीको क्षमता विकास र सघन अनुगमन गरेकै कारण तरलताको अभाव नभएको अध्यक्ष श्रेष्ठले स्पष्ट पार्नुभयो ।
वित्तशास्त्रका प्राध्यापक समेत रहनुभएका हेटौंडा स्कूल अफ म्यानेजमेन्टका शैक्षिक निर्देशक प्रद्युम्न उपाध्यायले विश्वविद्यालय तहमा सहकारी सम्बन्धी औपचारिक शिक्षा लागु नहुनुले दक्ष जनशक्ति उत्पादन हुन नसकेको उल्लेख गर्नुभयो । हालै त्रिभुवन विश्वविद्यालयले सहकारीसम्बन्धी कार्यक्रम स्नात्तकोत्तर तहमा लागु गर्ने तयारी गरेको जानकारी गराउनुहुँदै विश्वविद्यालय तहको पठनपाठन हुने हेटौंडाका शैक्षिक संस्थाले अन्तर्राष्ट्रिय गुणस्तर मापनको प्रक्रिया पूरा गर्न लागेको र आगामी दिनमा आफैं पनि सहकारीसम्बन्धी पाठ्यक्रम विकास गरी औपचारिक शिक्षा दिने अवस्था आएको बताउनुभयो ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले ऋण नतिर्ने, तिर्नु नपर्ने भनी आमरुपमा कार्यक्रम गर्दै हिँड्ने समूहलाई स्थानीय प्रशासनले निगरानीमा राखेको उल्लेख गर्नुभयो । सहकारी विज्ञ केशवप्रसाद पोखरेलले सहकारीका पदाधिकारी र व्यवस्थापक, कर्मचारीलाई प्रशिक्षित गराए पनि उनीहरुले प्रशिक्षणको क्रममा जाने, बुझेका कुरा व्यवहारमा लागु गर्न नसक्दा जोखिमको अवस्था सिर्जना भएको बताउनुभयो । बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारीको प्रवद्र्धनमा बोर्डले आवश्यक सहजीकरण गरिरहेको बताउनुभयो । मकवानपुर जिल्ला सहकारी संघका पूर्वअध्यक्ष बद्रिप्रसाद लम्सालले सहकारीलाई समुदायमा आधारित बनाउन सक्दा जोखिमको सम्भावना न्यून हुने दावी गर्नुभयो । जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष, लेख समिति संयोजक तथा विषयगत सहकारी संघका अध्यक्ष तथा व्यवस्थापकहरुको उपस्थितिमा सहकारी विज्ञ केशवप्रसाद पोखरेल र बागमती प्रदेशको सहकारी राजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले सहकारीको वित्तीय स्थिरताका लागि ध्यान दिनुपर्ने विषयमा कार्यपत्र प्रस्तुती गर्नुभएको थियो । पहिलो सत्रमा अभिमुखीकरणपछि दोस्रो सत्रमा सर्वपक्षीय बहसको आयोजना गरिएको हो ।