हेटौंडाः भदौ महिनामा स्वास्थ्य बीमा गर्नेहरुको संख्या बढी रहेको पाइएको छ । हेटौंडा–२ स्थित स्वास्थ्य बीमा बोर्डको कार्यालयको रेकर्डअनुसार गतवर्ष अरु महिनाभन्दा भदौमा स्वास्थ्य बीमा बढी भएको देखिएको हो ।
विगतका वर्षहरुमा पनि भदौ महिनामा बीमा बढी हुने र फागुन महिनामा कम बिमा सुरुवात तथा नवीकरण हुने स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी नरबहादुर अधिकारीले बताउनु भयो । फागुनमा बिमा कम दर्ता भए पनि १३ हजार ४ सय ३३ वटा नवीकरण र ३७ जना थपिएको उहाँले जानकारी दिनुभयो । एक वर्षमा ४ ओटा सर्कल (सेवा सुरु हुने समय) रहने गरेको उहाँले जानकारी दिनुभयो । भदौ, मंसिर, फागुन र जेठमा सेवा सुरु हुने उहाँको भनाई छ । गत वर्ष १ लाख ७१ हजार १ सय ५२ वटा बीमा दर्ता भएको छ । जसमध्ये ९३ हजार ३ सय २९ जना महिला छन् भने ८८ हजार १ सय १६ जना पुरुष रहेको अधिकारीले जानकारी दिनुभयो ।
बीमाबाट एक हजार एक सय ३६ किसिमको औषधी पाइन्छ । विविध संस्था र कर्मचारी थोरै भएकाले समस्या आइपर्ने अधिकारीले बताउनुभयो । समस्यासँगै दर्ता गर्ने मानिसको गुनासो औषधीसँग पनि रहेको अधिकारीले बताउनुभयो । ‘बीमाको औषधी सिमित हुन्छ । औषधी अस्पतालको व्यवस्थामा भरपर्छ’, अधिकारीले भन्नुभयो– ‘औषधी नपाए बीमाको गल्ती हुँदैन ।’ स्वास्थ्य बीमा बोर्डबाट पैसाको भुक्तानी हुने र औषधी नपाए बीमा बोर्डको कमजोरी नहुने अधिकारीले बताउनुभयो ।
बीमाबाट उपलब्ध नहुने सेवाहरु वार्षिकरुपमा तोकेभन्दा बढी मूल्यको चश्मा, श्रवणयन्त्र, सेतो छडी र वैशाखी छन् । यस्तै, पोलेको, गम्भीर चोटपटकका लागि गरिने उपचार, ओठ, तालु काटिएकोमा गरिने सर्जरी बाहेकको प्लास्टिक तथा कस्मेटिक सर्जरी । दाँत निकाल्ने तथा दाँतको सामान्य चोटपटकको प्राथमिक व्यवस्थापनबाहेकको दन्त उपचार रहेको छ । अति गरिब, एचआइभी संक्रमित, कुष्ठरोगी, एमडीआर टिबी, अति अशक्त अपाङ्गता भएको परिवारलाई योगदान रकममा सतप्रतिशत छुटको व्यवस्था रहेको छ । तीबाट ९ सय ८८ जेष्ठ नागरिक, १ सय ६३ एचआइभी परिवारसहित एक जना कुष्ठरोगी परिवार, ३३३ अपाङ्गता परिवार र एमडीआर टिबीको लाभग्राही नभएको अधिकारीले जानकारी दिनुभयो ।