गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशका विभिन्न जिल्लामा भएको छुट्टाछुट्टै घटनामा एकै दिन ५ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, काभ्रे, धादिङ, दोलखालगायत जिल्लामा मंगलबार भएका विभिन्न घटनामा ५ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

चितवनको रत्ननगर नगरपालिका–९, लालपर्सामा सोही ठाउँका ६१ वर्षीय चन्द्रबहादुर लामाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शव हेर्दा जंगली जनावरले आक्रमण गरी मृत्यु भएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । भरतपुर माहानगरपालिका–४, पेन्सन क्याम्प चोकमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एकजनाको मृत्य भएको छ भने एकजना घाइते भएका छन् । रामपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना ११ प ४१८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भारत रक्सौल घर भई हाल चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० बस्ने २१ वर्षीय पिंकु यादव घाइते भएका थिए । घाइते यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल पछाडि सवार बारा सिम्रौनगढ नगरपालिका–१, खजानी घर भई हाल भरतपुर वर्कसपमा काम गर्ने २२ वर्षीय अंगत जैसवाल घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२३ स्थित मदिपुरका कमल विश्वकर्मा मृत फेला परेका छन् । मदिपुरस्थित केरुङ्ग खोलामा ४५ वर्षीय विश्वकर्मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सोमबार राति मादक पदार्थ सेवन गरी सम्पर्कविहीन रहेका विश्वकर्मा मंगलबार मृत फेला परेका हुन् । यस्तै, काभ्रेको नमोबुद्ध नगरपालिका–३, सुङ्गुरे खोपमा एकजना पुरुष मृत फेला परेका छन् । शव सिपा लिसङ्खु गाउँपालिका–९ बस्ने २९ वर्षीय धर्नधर चौलागाईको रहेको प्रहरी चौकी भकुन्डेबेसीले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काभ्रेकै मण्डन देउपुर नगरपालिका–१, हलेदामा एकजनाको लडेर मृत्यु भएको छ । सोमबार मादक पदार्थ सेवन गरी बाटोमा हिँडिरहेको अबस्थामा बाटोबाट करिब ५ फिट तल करेसाबारीमा लड्दा ३५ वर्षीय सुमन बस्ताकोटीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शवको मुचुल्कापश्चात् पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । धादिङको निलकण्ठ नगरपालिका–१२, साङकोषमा ढुङ्गाले लागेर एकजना पुरुष घाइते भएका छन् । घाइते हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका बस्ने ४७ वर्षीय बलबहादुर बुढा रहेको प्रहरीले जानकारी दिएको छ । आहालेडाँडा सडकखण्डमा बाटोको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर लागि बुढा घाइते भएका हुन् । घाइतेको अवस्था मध्यम रहेको र उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५, भोट्याम्नामा भिरबाट लढेर ५० वर्षीया मेकमाया सुनार घाइते भएकी छिन् । सुनार घाँस काट्न गएकोमा घर फर्की नआएकाले खोज्दै जाने क्रममा भिरबाट लडी घाइते अवस्थामा फेला पारी उपचारका लागि मेडिकल कलेज जोरपाटी लगिएको प्रहरीले जनाएको छ । दोलखाको कालिन्चोक गाउँपालिका–४, तल्लोटोलमा भिरबाट लडी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तल्लोटोल बस्ने ५१ वर्षीया लीलाबहादुर सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सुनार ८ बजे छिमेकीको पूजामा गएकोमा घर नफर्केपछि आफन्तले खोजतलास गर्ने क्रममा घरदेखि ३ सय मिटर पर ओखलढुंगे भिरबाट लडी मृत्त अबस्थामा फेला परेका हुन् । सुनारको शव मुचुल्कापश्चात् पाष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरी जनाएको छ ।