हेटौंडाः बागमती प्रदेशमा तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजी भाषाको रूपमा कार्यान्वयनमा ल्याउनका लागि ध्यानाकर्षणपत्र बुझाएको छ । सोमबार बागमती प्रदेश सरकारको सामाजिक विकासमन्त्री एवम् भाषा सम्बन्धी कार्यदलका संयोजक कुमारी मोक्तानलाई नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लिला कुमार घलान तामाङ, नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, नेवाः देय् दबू बागमती प्रदेश अध्यक्ष विष्णुगोपाल महर्जनले संयुक्त रुपमा पत्र बुझाएको हो ।
पत्र बुझ्नुहुँदै मन्त्री मोक्तानले कार्यदलको बैठक बसेर छिटो नै काम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । अहिले बागमती प्रदेश सरकार यसमा सकारात्मक रहेको उहाँको भनाइ छ । नेपालको संविधान २०७२ को धारा २०७ (छ) तथा धारा २८७ (७) एवम् घारा ७ (३) बमोजिम भाषा आयोगले कामकाजी भाषा सम्बन्धी बागमती प्रदेशमा तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजी भाषाकोरुपमा लागु गर्न सिफारिस गरेको थियो । जसअनुसार कार्यान्वयनका लागि बागमती प्रदेश सरकारले सामाजिक विकासमन्त्री कुमारी मोक्तानको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको थियो ।
कार्यदलमा बामगती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठ र उद्योग, पर्यटन तथा संस्कृति मन्त्री डम्बर बहादुर तामाङ रहनुभएको छ । मुख्यमन्त्री र कार्यदलमा सदस्य रहेका मन्त्रीहरुलाई पनि ध्यानाकर्षण पत्र बुझाउने प्रयास गरिए पनि मन्त्रीहरु राजधानी बाहिर रहनुभएकाले सम्भव नभएको नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले जानकारी दिनुभयो । बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउन भाषा आयोगले सिफारिस गरे पनि प्रदेश सरकारले आयोगको सिफारिसलाई कार्यान्वयन गर्न सकेको छैन ।