मकवानपुर जिल्लामा लागूऔषधको कारोबार बढ्दै गएको देखिन्छ । दिनहुँजसो लागूऔषधसहित ओसारपसारमा संलग्न व्यक्तिहरु पक्राउ पर्नुले यसलाई पुष्टि गर्दछ । तराईबाट हेटौंडा प्रवेश गर्ने मुख्य नाका रातोमाटे चेकपोष्ट र बसपार्क क्षेत्रबाट धेरैजसो लागूपदार्थसहित ओसारपसारमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । लागूऔषधको समस्या विश्वव्यापी छ । विश्वलाई नै आक्रान्त पारिरहेको लागूऔषध ओसारपसार रोकथामका लागि नेपाल प्रहरीले सक्रियता पनि देखाइरहेको छ । तर, दिनहुँ लागूऔषधसहित विभिन्न व्यक्ति पक्राउ परेका समाचारले प्रहरीको सक्रियताले पूर्ण सफलता पाउन नसकेको देखिन्छ । नेपाल–भारतबीच रहेको खुला सीमा लागूपदार्थ ओसारपसारका लागि सहयोगी बनिरहेको छ । नेपालबाट गाँजा, चरेस, अफिमजस्ता लागूऔषध भारत जाने र भारतबाट सेतो÷खैरो हेरोइनका साथै लागूऔषध दुव्यर्सनीले प्रयोग गर्ने नुर्फिन, डाइजेपाम, लुप्रिजेसिक, फेनारगन, कोरेक्सजस्ता ट्याब्लेट र सिरप अत्यधिक मात्रामा भित्रिने गरेको छ ।

मकवानपुर तथा धादिङ जिल्लाका दुर्गम क्षेत्रमा उत्पादन हुने गाँजा, चरेस तथा अफिम हेटौंडा हुँदै भारत जाने र वीरगञ्ज नाकाबाट नेपाल भित्रने लागूऔषधहरु हेटौंडा हुँदै राजधानी काठमाडौं तथा देशका अन्य भागमा जाने हुँदा हेटौंडामा लागूऔषध कारोबारमा संलग्नहरु दिनहुँ पक्राउ पर्ने गरेका छन् । मंगलबारको यसै दैनिकको पहिलो पृष्टमा लागूऔषधसम्बन्धी ३ वटा समाचार प्रकाशित भयो । ती समाचारमध्ये दुईवटा लागूऔषधसहित व्यक्ति पक्राउ परेको थियो भने एउटा लागूऔषध सेवन गरी कुटपिट गरिएको समाचार थियो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेमा रोकी राखेको कन्टेनर ट्रकबाट सशस्त्र प्रहरीले १५८ केजी लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले गाँजासहित ट्रक र ट्रकका सहचालकलाई नियन्त्रणमा लिएको छ । उक्त ट्रक मकवानपुरको थाहा नगरपालिकाबाट आएको प्रहरीको भनाई छ । यस्तै, लागूऔषधसहित हेटौंडा–६, गौरीटारका ३२ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा उनकै घरमा नाइट्रोभेट ३० ट्याब्लेट र गाँजा २ केजी ९ सय ग्राम फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । यसैगरी, हेटौंडा–१८, मानेडाँडामा लागूऔषध सेवन गरी छिमेकीलाई कुटपिट गर्ने २५ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ती युवाका साथबाट प्रहरीले लागूऔषध नाइट्रोभेट २४ ट्याब्लेटसमेत फेला पारेको छ ।

लागूऔषध ओसारपसार र सेवनमा अधिकांश युवाहरुको संलग्नता देखिने गरेको छ । लागूऔषध दुव्र्यसनका कारण देशका युवापुस्ता नै बेकम्मा हुने सम्भावना रहन्छ । लागूऔषध र यसको दुव्र्यसनले समाजमा विभिन्न नकारात्मक प्रभाव पर्दछ । किन र के कारणले लागूऔषधको कारोबार फस्टाइरहेको छ भन्ने विषयमा अनुसन्धान आवश्यक छ । बढ्दो लागूऔषध ओसारपसार र दुव्र्यसनका कारण व्यक्ति, समाज तथा देशलाई पर्ने असरको बारेमा जनस्तरसम्म सचेतना दिनु आवश्यक छ । लागूऔषध नियन्त्रण गर्न चेतनामूलक कार्यक्रमका साथसाथै कडा कानुनी कारबाही सँगसँगै अघि बढाउनुपर्छ । लागूऔषधको समस्यालाई दीर्घकालीन समाधानका लागि विशेष नीति बनाएर कार्यान्वयन गर्नुपर्छ ।

लागूऔषध उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनको समस्या एउटा देशको मात्र होइन । विश्वका अधिकांश देश लागूऔषध दुव्र्यसनको समस्याबाट प्रभावित भइरहेको छ । यसकारण लागूऔषधको समस्या समाधानका लागि विश्वका सबै देशहरु गम्भीर बन्नुपर्छ । नेपाल र भारतबीचको खुला सीमाका कारण लागूऔषध ओसारपसार सहजै भइरहेका कारण यी दुई देशका सरकार थप गम्भीर हुनुपर्छ । नेपाल–भारतबीच हुने लागूऔषध ओसारपसार नियन्त्रणका लागि दुबै देशका सरकार र सुरक्षा निकायले थप सक्रियता देखाउनुपर्छ । लागूऔषध नियन्त्रणका लागि प्रहरीमात्र सक्रिय भएर पनि हुँदैन । यसका लागि सामूहिक प्रयास आवश्यक पर्दछ । लागूपदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवन सबै चरणमा नियन्त्रण आवश्यक छ, जसका सबैको सामूहिक प्रयास हुनुपर्छ ।