हेटौंडाः तेस्रो हेटौंडा कला–साहित्य महोत्सव सकिएको छ । शुक्रबार र शनिबार दुईदिन हेटौंडा–४ स्थित नवोदय शिशु सदन मावि परिसरमा महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा विशेषगरी विद्यालयको शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाउने विषयमा कार्यशाला तथा अन्तरक्रियाको आयोजना गरिएको थियो ।
महोत्सवमा भव्य मञ्चमा विद्यार्थीले गायन, नृत्य, चित्रकला प्रस्तुत गरेका थिए । विद्यार्थीको कलालाई अभिभावक, सरोकारवाला व्यक्तिले अवलोकन गरे । महोत्सवमा जिल्लाभित्रकै कला, साहित्य क्षेत्रका व्यक्तित्वले सहजीकरण गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरलका व्यक्तिहरुले पनि सहजीकरण गर्नुभएको थियो । भारतबाट समिना मिश्रा, पाकिस्तानबाट रुमना हुसेनको सहभागिता रहेको थियो भने नाटककार अशेष मल्ल, बाल साहित्यकार अनुराधा, अनन्तप्रसाद वाग्ले, यमन श्रेष्ठको पनि सहभागिता रहेको थियो ।
महोत्सवमा विद्यार्थी, अभिभावकलाई लक्षित गरी पुस्तक विक्री गरिएको थियो । नेपाली तथा विदेशी पुस्तक विक्रीमा सहुलियत समेत प्रदान गरिएको थियो । शुक्रबार विद्यार्थी, शिक्षक, अभिभावकका लागि विविध विषयमा कार्यशालाको आयोजना गरिएको थियो भने शनिबार विभिन्न विषयमा सरोकारवालाको सहभागितामा अन्तरक्रिया गरिएको थियो । स्थानीय तह, पत्रकार र साहित्यकारको आँखामा बाल साहित्य विषयमा मकवानपुरको राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङ, समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ र साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सहभागितामा अन्तरक्रिया भएको थियो । अन्तरक्रियालाई साहित्यकार छवि अनित्यले सहजीकरण गर्नुभएको थियो ।
अन्तरक्रियामा उपाध्यक्ष थिङले फागुन महिनाभित्रै राक्सिराङमा प्रज्ञा प्रतिष्ठान गठन भई साहित्यिक क्रियाकलाप गरिने जानकारी गराउनुभयो । साहित्यमा स्थानीय सरकारले लगानी गर्नुपर्ने बताउनुहुँदै उहाँले राक्सिराङका विद्यार्थीले हेटौंडा बजार हुँदै काठमाडौंसम्म क्षमता प्रस्तुत गर्ने अवस्था तयार पारिने दावी गर्नुभयो । सम्पादक श्रेष्ठले विद्यार्थीलाई साहित्यप्रति प्रेरित गर्न शिक्षकमार्फत विद्यार्थीका रचना प्रकाशन गर्ने गरिएको बताउनुभयो । शिक्षकहरुको सहजीकरण भए विद्यार्थीको रचनात्मक क्षमतामा सुधार हुँदै जाने श्रेष्ठको भनाइ थियो । संगमकी अध्यक्ष न्यौपानेले पहुँचका आधारमा कार्यक्रम सञ्चालन हुने र त्यस्ता कार्यक्रम प्रभावकारी नहुने बताउनुभयो । अन्तरक्रियामा सहभागी नवसर्जक साहित्य चौतारीका संरक्षक दीपक गौतमले प्रतिष्ठान नै गठन गरेर पालिकाले साहित्यलाई प्रवद्र्धन गर्नुपर्ने सुझाव दिनुभयो ।