शिक्षा भनेको चेतना हो । असल खराब छुट्याएर सही निर्णय लिने सक्षमतालाई शिक्षा भनिन्छ । शिक्षाले व्यक्तिको व्यवहारलाई अनुकरणीय र आर्दश बनाउँदै मानवता र नैतिकताको प्रस्फुटन गराउन सक्छ । व्यक्तिको इच्छा र चाहनाअनुसारको प्रतिभा विकासमा समेत शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । जीवनपर्यन्त आफूले गरेका कार्य र अनुभवबाट शिक्षा आर्जन हुने भए पनि पुस्तकको अध्ययनलाई औपचारिक शिक्षा मान्ने गरिन्छ । कला भनेको सिर्जना हो । मानव निर्मित र सिर्जित कुराहरुलाई हामी कला भन्न सक्छौं । कलात्मक कार्यले जीवन र जगतलाई सौन्दर्यबोध गराउँछ । मानवीय जीवनसँग प्रत्यक्ष सरोकार भएको सामाजिक, सांस्कृतिक सम्बन्ध राख्ने विषय साहित्य हो । यो सामाजको प्रतिविम्ब भएकाले यसलाई समाजको दर्पण पनि भनिन्छ । कलासँग साहित्यको घनिष्ट सम्बन्ध हुन्छ भने यी दुबैको सम्बन्ध शिक्षासँग रहेको छ । कला–साहित्यले समाजको रुपान्तरणमा ठूलो सहयोग पु¥याउने गर्दछ । मानव जीवनमा शिक्षाको जत्तिकै कला साहित्यको पनि ठूलो भूमिका रहन्छ ।

अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई साहित्य र कलाको क्षेत्रमा जोड्ने उद्देश्यले हेटौंडामा बाल कला– साहित्य महोत्सव सम्पन्न भएको छ । नवोदय शिशु सदन, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौं पब्लिकेसन्सले शुक्रबार र शनिबार महोत्सव गरेको हो । तेस्रो संस्करणको महोत्सव हेटौंडा–४ स्थित नवोदय शिशु सदनमा भएको हो । महोत्सवको पहिलो दिन शुक्रबार विद्यार्थी, शिक्षक, अभिभावकका लागि विभिन्न विषयमा २० वटा कार्यशाला सञ्चालन गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहेको महोत्सवको पहिलो दिन मकवानपुर जिल्लाका ३२ वटा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकको सहभागिता रहेको थियो । महोत्सवमा छिमेकी जिल्लाहरु चितवन, नवलपुर, बारा, रौतहट र सर्लाहीका विद्यार्थी तथा शिक्षकको पनि सहभागिता थियो । विद्यार्थीमा पठन संस्कृतिको विकास गराई कला–साहित्यको माध्यमबाट शिक्षाको विकासमा महोत्सव उपयोगी हुने आयोजकको विश्वास छ ।

महोत्सवमा विद्यार्थीलक्षित लघुकथा, कविता, गजल, मुक्तक, गीत लेखनसम्बन्धी कार्यशाला गरिएको छ । यस्तै, डिजाइन च्यालेन्ज, पपेटको प्रयोग गरी कथा प्रस्तुति कलासम्बन्धी कार्यशालासमेत भएको छ । अभिभावकलक्षित असल अभिभावकत्वका विषयमा कार्यशाला आयोजना गरिएको थियो भने शिक्षकका लागि कथा लेखन, पुस्तक छनोट र तुलनात्मक विश्लेषण, साहित्यमा प्रविधिको प्रयोगका विषयमा कार्यशाला गरिएको थियो । विद्यार्थी, शिक्षक, अभिभावकलाई लक्षित गरेर आयोजना गरिएको कला–साहित्य महोत्सवले शिक्षण सिकाइमा कला तथा साहित्यको प्रयोगलाई प्रवद्र्धन गर्नेछ । विद्यार्थीमा अन्तरनिहित साहित्यिक प्रतिभा प्रष्फुटनमा महोत्सव उपयोगी हुने विश्वास गर्न सकिन्छ । यसले सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकमा आफैं साहित्यको सिर्जना गर्ने र अरुको सिर्जना अध्ययन गर्ने बानिको विकास गराउँछ ।

शैक्षिक भूमिकाको पृष्ठभूमिमा बसेर कला–साहित्यले आफ्नो प्रभाव विस्तार गरिरहेको हुने भएकाले शिक्षण संस्थाहरुले यस्ता कार्यशाला गर्नु सान्दर्भिक हुनेछ । कला–साहित्यले मानिसमा चेतनाको अभिवृद्धि गर्ने र मानव जीवनलाई सुन्दर एवम् सुसंस्कृत बनाउने भएकाले पनि महोत्सवलाई शैक्षिक जागरणको प्रयास मान्नुपर्छ । विभिन्न भाषा, कला, संस्कृति र पहिचान नै हाम्रो समाजको दर्पण हो । शिक्षाले ज्ञान प्रदान गरेजस्तै कला र साहित्यले पनि मानिसलाई विभिन्न प्रकारका ज्ञान दिइरहेको हुन्छ । यसले अझ आफूभित्र रहेको ज्ञानको भण्डारलाई उजागर गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस्ता कार्यक्रमको महत्वलाई सबैले मनन गर्नु आवश्यक छ ।