मोतिबिन्दु मानिसको आँखाको लेन्स (नानी)मा दाग लागेर दृष्टि क्षमता घट्ने रोग हो । आँखाभित्र रहेको पारदर्शी मणिजस्तै लेन्स क्रमशः अर्ध–पारदर्शक र अपारदर्शक हुँदै दृष्टिमा क्षमता कमजोर हुने रोगलाई मोतिबिन्दु भनिन्छ । आँखाको लेन्सले हामीले हेर्ने वस्तुहरुलाई आकृति बनाएर प्रष्टरुपमा दृष्टिपर्दा (रेटिना) मा फोकस गर्दछ । रेटिनाबाट प्रकाशका आकृतिहरु स्नायु संकेतहरु बनेर मस्तिष्कमा जान्छ । यदि लेन्समा बादल वा धब्बा छ भने निश्चय नै रेटिनामा प्रष्ट आकृति बन्न सक्दैन । जसले मानिसको दृष्टि क्षमता घट्छ । मोतिबिन्दु बिस्तारै बढ्दै जाने रोग हो र यसले एउटामात्र वा दुबै आँखामा असर पुर्याउन सक्छ । यो सरुवा रोग होइन । अधिकांश मोतिबिन्दु उमेर बढ्दै जाँदा देखा पर्छन् । तर, मोतिबिन्दु उमेरसँग मात्र नभई अन्य आँखाका रोगहरु, विकिरण, चोटपटक तथा लामो समयसम्म औषधीको प्रयोगबाट पनि हुन सक्छ । कुनै व्यक्तिमा जन्मजात वा कसैमा मधुमेह रोगका कारण पनि मोतिविन्दु हुनसक्छ । यो रोग लागेका मानिसहरुमा रङहरु फिक्का देखिने, धमिलो देखिने, बत्ती वा प्रकाशका अन्य स्रोतहरुका वरिपरि गोलो घेरा देखिने, धेरै उज्यालोले समस्या पैदा गर्ने र राति आँखा नदेख्नेजस्ता लक्षणहरू देखा पर्दछन् ।
नेपालमा आँखासम्बन्धी लाग्ने रोगमध्ये मोतिबिन्दु अग्रस्थानमा आउँछ । समयमा यसको उपचार नहुँदा कयौंले सदाका लागि दृष्टि गुमाउने गरेका छन् । तर, नेपालकै नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले मोतिबिन्दुको सरल र सस्तो उपचार पद्दतिको विकास गरेर नेपालमा मात्र नभई विश्वमै धेरैको दृष्टि समस्या समाधान गर्दै आएका छन् । आँखामा हुने मोतिबिन्दुको उपचारमा डा. रुइतले पुर्याएको योगदानको कदर गर्दै उनलाई विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ । डा. रुइतकै अग्रसरतामा नेपालमा तिलगंगा आँखा प्रतिष्ठान स्थापना भई क्रियाशील छ । प्रतिष्ठानले तिलगंगा आँखा अस्पतालसहित देशका अन्य भागमा पनि आँखा उपचारका लागि अस्पतालहरु सञ्चालन गरिरहेको छ । प्रतिष्ठानले मोतिबिन्दुको उपचारमा प्रयोग हुने लेन्सको उत्पादन गरेर लाखौं नेपाली तथा विदेशीको आँखाको ज्योति प्रदान गर्दै आएको छ । तिलगंगा आँखा प्रतिष्ठानकै शाखाको रुपमा करिब डेढ दशकदेखि हेटौंडा सामुदायिक आँखा अस्पताल स्थापना भई आँखा रोगीहरुलाई उपचार सेवा प्रदान गरिरहेको छ ।
डा. रुइतको नेतृत्वमा हेटौंडा सामुदायिक आँखा अस्पतालमा तीन दिन लगाएर तीन सय १० जनाको मोतिबिन्दुको शल्यक्रिया भएको छ । मकवानपुरसहित ४ जिल्लाका ८ स्थानमा आयोजना गरिएको आँखा परीक्षण शिविरमा मोतिबिन्दुको समस्या देखिएका बिरामीलाई अस्पतालमा ल्याएर निःशुल्क शल्यक्रिया गरिएको छ । तेज कोहली एण्ड रुइत फाउण्डेशनको सहयोग, हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र लायन्स क्लबको सहजीकरणमा भएको शिविरमा दुई हजार तीन सय ५७ जनाको आँखा परीक्षण गर्दा तीन सय ३५ जनामा मोतिविन्दुको समस्या देखिएको थियो । गत बिहीबारदेखि शनिबारसम्म डा. रुइतको नेतृत्वमा डा. सुनिल थकाली, डा. श्याम व्यास र डा. एलिना गौचनले मोतिबिन्दुको शल्यक्रिया गरेका थिए । शल्यक्रिया गरिएका सबैजना आइतबार घर फर्किएका छन् ।
आँखामा हुने मोतिबिन्दुको सहज उपचारको पर्याय बनेका डा. रुइतको नेतृत्वमा हालसम्म लाखौं नेपालीको आँखामा लागेको मोतिबिन्दुको उपचार भइसकेको छ । डा. रुइतले विकास गरेको प्रविधिले मोतिबिन्दुको उपचार निकै सरल र सहज बनाएको छ । उनको प्रविधि र दक्षतालाई तिलगंगा प्रतिष्ठानमार्फत् केही हदसम्म सदुपयोग भइरहेको भए पनि राज्यस्तरबाटै अझ व्यापकता दिनु आवश्यक छ । विभिन्न कारणले हुने मोतिबिन्दुको उपचारलाई अझ व्यापक र सुलभ बनाउन सरकारले डा. रुइत र प्रतिष्ठानलाई आवश्यक सहयोग तथा सहजीकरण गर्नुपर्छ । डा. रुइतसहित उनको टिमलाई सरकारले थप प्रोत्साहन र हौसला दिन सकेमा आँखाका अन्य रोगहरुको पनि सहज उपचार प्रविधि विकासमा सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।