राजर्षि गोल्डकपको रनिङशिल्ड फिर्ता गर्दै पिप्ले युवा क्लबका पदाधिकारीहरु ।

हेटौंडाः सर्लाहीको बागमती नगरपालिकामा हुने सातौं संस्करणको राजर्षि जनक गोल्डकप फुटबल प्रतियोगिताको मिति टुङ्गो लागेको छ । बागमती युथ क्लबको आयोजनामा प्रतियोगिता माघ २५ देखि फागुन ६ गतेसम्म हुने भएको हो ।

सर्लाही जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा मकवानपुरको पिप्ले युवा क्लब, अन्य ए डिभिजन क्लबहरु र विदेशका टिमको सहभागिता रहने भएको छ । प्रतियोगितामा १२ टिम सहभागी हुने जनाइएको छ ।

यस पटकको गोल्डकपमा मकवानपुरको पिप्ले युवा क्लब लगातार तेस्रो पटक गोल्डकपको उपाधि हात पार्ने योजनासहित सहभागी हुँदैछ । पिप्ले युवा क्लबले पाँचौ र छैठौं संस्करणमा गोल्डकपको उपाधि जितेको हो । पाँचौ संस्करणमा पिप्ले युवा क्लबले सहभागी जनाएको पहिलो पटक नै उपाधि जितेको थियो । पिप्ले युवा क्लबले गत संस्करणको गोल्डकपमा ए डिभिजन क्लब मछिन्द्र क्लबलाई सडेनडेथमा ४–३ गोलले पराजित गर्दै उपाधि जितेको थियो । निर्धारित समय गोलरहित बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । उपाधि जितेसँगै १० लाख रुपैयाँ हात पारेको थियो ।

पिप्ले युवा क्लबले जिल्लामै पहिलो पटक सर्वाधिक धनराशिको उपाधि जितेको भन्दै हेटौंडा उपमहानगरपालिका परिक्रमासमेत गरेको थियो । पिप्ले युवा क्लबले यसअघि ए डिभिजन लिग खेल्ने खेलाडी र जिल्लाभित्रका खेलाडीहरुलाई समावेश गरेर गोल्डकप खेलेको थियो । पिप्ले युवा क्लबको प्रशिक्षकमा सुविन घिमिरे रहनुभएको थियो । प्रशिक्षक घिमिरे अहिले यस संस्करणको गोल्डकपमा तयारीमा जुट्नुभएको छ ।

अहिले पिप्ले युवा क्लबलाई उपाधि जिताउन सक्ने बलियो टिम निर्माणका लागि खेलाडीहरुलाई प्रशिक्षण र केही खेलाडीहरुको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘यस पटक पनि हामी पिप्ले युवा क्लबलाई उपाधि दिलाउँछौं, यस पटक पनि गोल्डकप जितेर शिल्ड आफ्नो बनाउँछौं ।’

यस पटक पनि प्रतियोगितामा भुटानी शीर्ष डिभिजनका च्याम्पियन क्लबहरु पनि सहभागी हुने हुँदा केही चुनौती पनि रहेको उहाँले बताउनुभयो । चुनौतीलाई समाना गरेर पिप्ले युवा क्लबलाई तेस्रो पटक उपाधि दिलाउने उहाँको भनाइ छ । यस पटकको प्रतियोगिताको विजेताले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।