माघ १ गते आइतबार पोखरामा भएको विमान दुर्घटनाको खबरले सबै नेपाली तथा विश्व समुदायलाई दुःखी बनायो । चालक दलका ४ सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान आइतबार विहान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । काठमाडौंबाट पोखराका लागि विहान १०ः३० बजे ६८ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको ९ एन–एनएसी विमान दुर्घटना हुँदा विमानमा सवार सबैले ज्यान गुमाएका छन् । नेपालकै इतिहासमा सबैभन्दा बढी मानवीय क्षति भएको आन्तरिक हवाइ दुर्घटना बन्न पुगेको यो घटनाप्रति सरकारले पनि गम्भीरता देखायो । विमान दुर्घटनापश्चात् मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर दुर्घटनाको जाँचबुझका लागि ५ सदस्यीय आयोग गठन गर्नुका साथै दुर्घटनामा मृत्यु हुनेको शोकमा सोमबार देशभर शोक विदा दिइयो । मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान गर्ने सम्पूर्ण विमानको प्राविधिक परीक्षण गर्न निर्देशनसमेत दिएको छ ।
दैनिक दर्जनौं सडक दुर्घटनाका समाचार सुनिरहेको भए पनि आक्कलझुक्कल हुने हवाइ दुर्घटनाको समाचार विशेष बन्ने गरेको छ । पछिल्ला वर्षहरुमा सडक दुर्घटनामा प्रत्येक वर्ष दुई हजारभन्दा बढीको ज्यान गइरहेको भए पनि त्यसतर्फ खासै चासो र चिन्ता व्यक्त गरिएको पाइँदैन । हवाइ दुर्घटनाप्रति भने सबैको चासो र चिन्ता बढी हुने गरेको पाइन्छ । नेपालको हवाइ इतिहासमा हालसम्म एक सय ४ वटा विमान (हेलिकप्टरसमेत) दुर्घटना भएका छन् । ६७ वर्षको अवधिमा ५८ वटा हवाइ दुर्घटनामा ९१७ जनाको ज्यान गएको तथ्यांक छ । तीमध्ये अन्तर्राष्ट्रिय उडानका १० वटा विमान दुर्घटनामा ३७३ जनाको मृत्यु भएको छ । नेपालमा सर्वप्रथम सन् १९५६ मा इन्डियन एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १४ जनाले ज्यान गुमाएका थिए । सबैभन्दा धेरै मानवीय क्षति भएका दुर्घटनामध्ये सन् १९९२ मा थाई एयर र पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना हुँदा क्रमशः ११३ जना र १६७ जनाको ज्यान गएको थियो । नेपाली आकाशमा हवाइ दुर्घटनाबाट सबैभन्दा बढी मानवीय क्षति भएको तेस्रो दुर्घटना आइतबारको दुर्घटना बनेको छ । यसअघि २०७९ जेठ १५ मा तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका सदस्यसहित २२ जनाको ज्यान गएको थियो ।
नेपालमा बारम्बार ठूला–साना हवाई दुर्घटना भइरहेका कारण नेपाली आकाश पूर्ण सुरक्षित नरहेको पुष्टि हुन्छ । हवाइ दुर्घटना हुँदा जाँचबुझ समिति बनाउने र दुर्घटनाको कारण पत्ता लगाउनेबाहेक नेपाली आकाशलाई सुरक्षित बनाउनेतर्फ खासै काम भएका पाइँदैन । हरेकपटकको विमान दुर्घटनापछि हवाइ सुरक्षाको विषयमा चर्चा र चासो देखाउने गरेको भए पनि दुर्घटनाको क्रम रोकिएको छैन । हवाइ दुर्घटनापछि गठन भएका जाँचबुझ समितिको प्रतिवेदनले खराब मौसम, यान्त्रिक गडबडी र मानवीय त्रुटीलाई नै दुर्घटनाको कारण देखाउने गरेको छ । मानवीय त्रुटीमा पनि अधिकांश दुर्घटनामा पाइलटको गल्तीलाई औंल्याउने गरेको पाइन्छ । तर, प्रतिवेदनमा दिइने गरेका सुझावको कार्यान्वयनमा सम्बद्ध सरकारी निकायले गम्भीर चासो नदेखाउँदा दुर्घटना रोक्न सकिएको छैन ।
हवाइ दुर्घटना भएपछि असुरक्षित नेपाली अकाशका बारेमा चर्चा र बहस हुने गर्दछ । दुर्घटनापछि सरकारले दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ समिति गठन गर्दछ । समितिले निश्चित समयमा प्रतिवेदन तयार पारी बुझाउँछ । यसरी हरेक पटक कर्मकाण्डी प्रक्रिया पूरा गर्ने काम भए पनि प्रतिवेदनमा उल्लेख भएका विषयको कार्यान्वयनको विषय सरकारको प्राथमिकतामा पर्दैन । हवाइ सुरक्षाजस्तो संवेदनशील विषय सरकारको प्राथमिकतामा नपरेकै कारण नेपाली आकाश सुरक्षित नभएको भन्दै संसारभर नकारात्मक सन्देश प्रवाह भइरहेको छ । हवाइ दुर्घटनापछि तत्काल दुःख र चिन्ता व्यक्त गर्नु स्वभाविक भए पनि यस्ता दुर्घटना न्यूनीकरणतर्फ सरकार गम्भीर भएर लाग्नु आवश्यक छ । हवाइ सुरक्षाका क्षेत्रमा सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण नेपाली वायुसेवा कम्पनीहरुप्रति समेत पुराना जहाज ल्याएर चलाउने गरेको गम्भीर आरोप लाग्ने गरेको छ । पटक–पटक दोहोरिने हवाइ दुर्घटनाको ठोस कारण पहिचान गरी नेपाली आकाशलाई सुरक्षित बनाउन सके दुर्घटनाको चिन्ता नै नरहनेतर्फ सरकारको ध्यान जानुपर्छ ।