गणित कार्यशालामा सहभागी विद्यार्थी क्रियाकलाप गर्दै ।

हेटौंडाः हेटौंडा–१८ स्थित मकवानपुर बालविद्या सदन र हेटौंडा–८ स्थित कमाने एकेडेमीको सहकार्यमा गणित कार्यशाला भएको छ । हेटौंडा–८, कमानेस्थित शुभम् पार्टी प्यालेसमा आयोजना गरिएको कार्यशालामा ६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई गणित विषयप्रति रुचि जगाउने र गणितको गहिराईलाई रमाइलो ढंगबाट मनन् गराउने उद्देश्य रहेको मकवानपुर बालविद्या सदनकी गणित शिक्षक विद्या गिरीले जानकारी दिनुभएको छ ।

कार्यशालामा दुबै विद्यालयका शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यशालामा गणित विषयका वरिष्ठ प्रशिक्षक तथा एक विद्यालय एक गणित प्रयोगशाला अभियानका अभियन्ता दयामान श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । कार्यशालामा आधुनिक राष्ट्रिय माविका गणित शिक्षक कमल प्रसाद दाहालले पनि सहजीकरण गर्नुभएको थियो ।

गणित कार्यशालामा सहभागी विद्यार्थी क्रियाकलाप गर्दै ।

यस्तै मकवानपुर बालविद्या सदनले विद्यालय परिसरमा शोक सभा गरेको छ । पोखरामा भएको हवाईजहाज दुर्घटनामा निधन भएकोप्रति शोक व्यक्त गरिएको विद्यालयका प्रिन्सीपल सुदीप राज गिरीले जानकारी दिनुभएको छ । यस्तै भूकम्प सुरक्षा सम्बन्धी सचेतनाको अवस्थाबारे परीक्षण गर्ने उद्देश्यले विद्यालयको प्रार्थना सभाको समयमा भूकम्पको कृत्रिम नक्कल गर्दा विद्यार्थीहरु खुला चौरबाट कक्षाकोठातर्फ प्रवेश गरेका थिए । भूकम्प आउँदा अतालिएर खुला ठाउँबाट समेत घरभित्र प्रवेश गर्ने जोखिमको अवस्था रहेको पनि प्रिन्सीपल गिरीले बताउनुभएको छ ।