नेपालमा सडक दुर्घटना भयावह बनिरहेको छ । मुलुकमा पछिल्लो समय सवारी दुर्घटना र त्यसले निम्त्याउने जनधनको क्षति बढ्दै गएको छ । सडक दुर्घटनामा परी दैनिक सरदर डेढ दर्जनभन्दा बढी मानिसले ज्यान गुमाइरहेका छन् । दुर्घटनामा घाइते तथा अंगभंग हुनेको संख्या मर्नेको भन्दा निकै बढी हुने गरेको छ । कतिपय दुर्घटना निकै दर्दनाक र धेरैलाई स्तब्ध पार्ने हुन्छन् । एउटै दुर्घटनामा दर्जनौं मानिसले ज्यान गुमाउनु पर्ने अवस्थासमेत आउने गरेको छ । मानवीय क्षतिको हिसाबले साना–ठूला दुर्घटना देशका सबै क्षेत्रमा दिनहुँ हुने गरेका छन् । यसरी दिनहुँ हुने सवारी दुर्घटनामा नागरिकको ज्यान गइरहेको हुन्छ, जसमा राज्य र सरोकारवालाको चासो कम देखिन्छ । धेरैको ज्यान जाने दुर्घटनाप्रति क्षणिक चिन्ता व्यक्त गरिए पनि मानवीय क्षति कम भएका अधिकांश दुर्घटनामा खासै ध्यान दिइन्न । दुर्घटनाले धेरथोर मानवीय र भौतिक क्षति गरेकै हुृन्छ । सडकमा हुने साना–ठूला सबै दुर्घटनालाई गम्भीररुपमा नलिँदा दुर्घटना बढ्दै गएको छ ।
मंगलबार काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने बाँकीको अस्पताल लाने क्रममा बाटोमा र अस्पतालमा मृत्यु भएको हो । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो । यसअघि सोमबार जाजरकोटमा भएको जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका–५, भिरपाटीमा भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । दिउँसो करिब ४ बजे कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप मध्यपहाडी सडकखण्डअन्तर्गत् छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा आफैं अनियन्त्रित भई २०० मिटर तल खसेको थियो ।
देशभर बढ्दै गएको सडक दुर्घटनाबाट मकवानपुर पनि अछुतो छैन । पूर्वपश्चिम महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ, मदन भण्डारी लोकमार्ग (धरान–चतरा–हेटौंडा सडक), कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–काठमाडौं सडकलगायत थुप्रै सडक सञ्जाल रहेको मकवानपुरमा दिनहुँजसो सडक दुर्घटना भइरहेका छन् । पछिल्लो समय मदन भण्डारी लोकमार्गमा दुर्घटनाको क्रम बढेको छ । सवारी साधनको तिब्र गति, चालकको लापरबाही, साँघुरो र कमसल सडक, सवारी साधनको चाप तथा जनचेतनाको कमीले सडक दुर्घटना बढी हुने गरेको छ । सडकमा गुड्ने सवारी साधनको यान्त्रिक अवस्था ठिक नभएका कारण पनि दुर्घटना हुने गरेको छ । सवारी चालक र यात्रुहरु सम्भावित दुर्घटनाप्रति सचेत र गम्भीर नबन्दा दुर्घटना र यसबाट हुने जनधनको क्षति भयावह बन्दै गएको छ ।
बढ्दो सडक दुर्घटना र त्यसबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न प्रभावकारी कदम चाल्नु आवश्यक बनिसकेको छ । हत्या, हिंसा, अपहरणजस्ता घटनामा परेर २÷४ जना मर्दा ठूलो मुद्दा बनाइन्छ, सञ्चार माध्यम र सामाजिक सञ्जालका लागि ठूलो मसला बन्छ, राजनीतिक मुद्दा बनाइन्छ । तर, दुर्घटनामा परेर एकै घटनामा दर्जनौं मानिस मर्दासमेत यो विषयमा कसैको ध्यान जाँदैन । सडक दुर्घटनाका मुख्य कारणहरु पहिचान गरेर त्यसको समाधानमा सम्बद्ध पक्ष गम्भीर बन्नुपर्छ । सडक दुर्घटना कम गर्न आम नागरिकहरु सचेत भई चालकलाई पनि सचेत बनाउनु आवश्यक छ । चालक सचेत भएमा, ट्राफिक व्यवस्थापन चुस्त भएमा, यात्रुहरु सजग भएमा दुर्घटना कम गर्न सकिन्छ ।