मोतिविन्दुको शल्यक्रिया गरिएका व्यक्तिहरु ।

हेटौंडाः रोटरी क्लब अफ हेटौंडाले हेटौंडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा आयोजना गरेको निशुुल्क आँखा परीक्षण शिविरमा पहिचान भएका २ सय १२ जनामा मोतिबिन्दुका विरामी मध्ये १ सय ६६ जनाको सफल शल्यक्रिया गरिएको छ । मंगलबारदेखि विभिन्न ५ स्थानमा आयोजना गरिएको शिविरमा २ सय १२ जनामा मोतिबिन्दु देखिएको हो ।

मकवानपुर, बारा र रौतहट ३ जिल्लाका विभिन्न ५ स्थानमा गरिएको निशुल्क आँखा परीक्षण शिविरमा १ हजार १ सय ४३ जनाको आँखाको परीक्षण गर्दा २ सय १२ जना मोतिबिन्दुका बिरामी पहिचान भएको आँखा शिविर कार्यक्रमका संयोजक प्रमेश प्रधानले जानकारी दिनुभएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालमा बिहीबार र शुक्रबार १ सय ६६ जनाको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । बाँकी बिरामीको शल्यक्रिया भइरहेको संयोजक प्रधानले बातउनुभयोे । शल्यक्रिया गरिएका मध्ये मकवानपुरका ६८ जना, बाराका ४९ जना र रौतहटका ९५ जना रहेका छन् ।

पहिलो दिन मंगलबार मकवानपुरको बागमती गाउँपालिका र रौतहट जिल्लाको पहोरा नगरपालिका गरि २ ठाउँमा, दोस्रो दिन बुधबार मकवानपुरको मनहरी गाउँपालिका र बारा जिल्लाको लोसन्डामा र तेस्रो दिन बिहीबार मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतमा निशुल्क आँखा शिविर आयोजना गरिएको थियो ।

शिविरमा छनोट गरिएका बिरामीहरुलाई मोतिबिन्दुको शल्यक्रियाका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालमा ल्याएर र बिरामीहरुको अन्तिम परीक्षणपश्चात मात्र शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । बिरामीका लागि आउने–जाने, खाने–बस्ने र मोतिबिन्दुको शल्यक्रिया एवम् औषधि सम्पूर्ण निःशुल्क नै उपलब्ध गराउने गरिएको छ ।

सबैभन्दा धेरै रौतहट जिल्लाका मोतिबिन्दुका बिरामी रहेका छन् । पुरुषमा भन्दा धेरै महिलामा मोतिबिन्दुको समस्या देखिने गरेको उहाँले बताउनुभयो । रोटरी क्लबले हरेक वर्ष आँखा शिविरको आयोजना गर्ने गरेको छ । रोटरी क्लब अफ हेटौंडा, रोट्र्याक्ट क्लब अफ हेटौंडा र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा आँखा शिविर भएको हो ।