एम्बुलेन्स सेवा उद्घाटन कार्यक्रममा सहभागी अतिथिहरु ।

हेटौंडाः बकैया गाउँपालिका वडा नम्बर ९ शिखरपुर स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । बागमती प्रदेश सरकार र बकैया गाउँपालिकाको सहकार्यमा एम्बुलेन्स खरिद गरी बिहीबारबाट सेवा आरम्भ गरेको हो ।

बागमती प्रदेश सरकारको १५ लाख रुपैयाँ र बकैया गाउँपालिकाको ७ लाख रुपैयाँ गरी २२ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको बकैया गाउँपालिकाका स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार शिखरपुर स्वास्थ्य चौकीमा दैनिक ५० जना बिरामीले स्वास्थ्य परिक्षण गराउछन् । एम्बुलेन्स खरिदमा संघीय सरकारबाट भन्सार छुट भएको उहाँले बताउनुभयो । सबैको सहयोग र सहकार्यमा एम्बुलेन्स सेवा सुचारु भएको भन्दै उहाँले ग्रामीण क्षेत्रको स्वास्थ्य क्षेत्रमा एम्बुलेन्स सेवाले सहयोग गर्ने धारणा राख्नुभयो ।

शिखरपुरमा एम्बुलेन्स सेवा संचालन भएसँगै बकैया गाउँपालिकामा ४ वटा एम्बुलेन्स संचालनमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामी भएपछि पनि स्थानीयहरु घरमै बस्ने गरेका थिए । स्वास्थ्य जटिल बनेपछि मात्रै अस्पताल जाने परिवार धेरै छन् । समयमा उपचार नपाउँदा धेरैको ज्यान नै जोखिममा पर्ने गरेको थियो ।”

शिखरपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको एम्बुलेन्स ।

बकैया गाउँपालिकामा घरमै सुत्केरी गराउने महिलाहरुको संख्या पनि अत्याधिक भएको भन्दै उहाँले एम्बुलेन्स सुचारु भएपछि ८० प्रतिशत गर्भवति महिला स्वास्थ्य संस्थामा सुत्केरी भएको जानकारी गराउनुभयो । गाउँपालिकामा एम्बुलेन्स सेवा संचालनले घरमा सुत्केरी हुने महिलाको संख्या घटाएको उहाँले बताउनुभयो । यसबाट सुत्केरी आमा र बच्चाको ज्यान जोखिममा पर्नबाट रोकेको उहाँको धारणा छ । अझै पनि २० प्रतिशत गर्भवति महिला घरमा नै सुत्केरी हुने गरेको भन्दै उहाँले यो संख्या घटाउन गाउँपालिकाले काम गरिरहेको जानकारी गराउनुभयो । शिक्षा र जनचेतनाका कारण केही हदसम्म स्वास्थ्य संस्था जानेको संख्यामा वृद्धि भएको उहाँले बताउनुभयो ।

शिखरपुर स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सुरु भएपछि नजिकका वडाहरु ३, ८, ९, १०, ११, १२ ले पनि सेवा पाउने उहाँले जानकारी दिनुभयो । शिखरपुरमा एम्बुलेन्स सेवा संचालन नहुँदा अटो अथवा भाडाको गाडीमा बिरामी अस्पतालसम्म पुर्याउने गरेको भन्दै उहाँले आगामी दिनमा बिरामीलाई अस्पताल लैजान सजिलो हुने बताउनुभयो ।

शिखरपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ९ का अध्यक्ष टंकध्वज लोप्चनको सभाध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै, कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीको विशेष आतिथ्यता रहेको थियो ।