कार्यक्रममा सहभागी वडा अध्यक्षहरु ।

हेटौंडाः मकवानपुरको ४ वटा स्थानीय तहका वडाध्यक्षहरुका लागि स्थानीय सरकार संचालन र सेवा प्रवाह सम्बन्धी २ दिने अभिमुखीकण सुरु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा बागमती प्रदेश सुशासन केन्द्रको समन्वयमा शुक्रबारबाट अभिमुखीकरण सुरु भएको हो ।

अभिमुखीकरणमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका वडाध्यक्षहरुको सहभागिता रहेको छ । यस अघि जिल्लाका अन्य स्थानीय तहका वडाध्यक्षहरुलाई अभिमुखीकरण गरिसकेको छ । अभिमुखीकरणमा स्थानीय तहको काम, कर्तव्य र अधिकार, वडा समिति र वडाध्यक्षको काम, कर्तव्य र अधिकारको बारेमा जिल्ला समन्वय समिति मकवानपुरका अधिकारी सीता गजुरेलले सहजीकरण गर्नुभयो । यस्तै, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रदेव पाण्डेले वडाबाट गरिने सिफासिस सम्बन्धी जानकारी र नमूना अभ्यासबारे सहजीकरण गर्नुभयो । अभिमुखीकरणमा सर्जमिन मुचुल्काको अवधारणा र सर्जमिन मुचुल्का तयार गर्दा ध्यान दिनुपर्ने विषयबारे, स्थानीय तहको योजना तर्जुमा र कार्यान्वयनमा वडा समितिको भुमिका र उपभोक्ता समिति गठन र परिचालनबारे छलफल गरिएको छ ।

अभिमुखीकणको दोस्रो दिन शनिबार विकासका अन्तरसम्बन्धित विषयहरुको कार्यान्वयनमा वडा समितिको भुमिका, दिगो विकास, जेसी मुलप्रवाहीकरणबारे छलफल गरिने जनाएको छ । यस्तै सामाजिक सुरक्षा भत्ता र व्यक्तिगत घटना दर्ता व्यवस्थापनबारे, वडा कार्यालयबाट हुने राजस्व संकलन, बैठक ब्यवस्थापन र निर्णयको मस्यौदा तयार गर्ने सीप र वडाबाट पेश गरिने प्रतिवेदनबारे छलफल गरिने जनाएको छ । जिसस मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्षतामा भएको अभिमुखीकरणमा जिसस मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेल, सदस्यहरु खड्का बहादुर पुलामी, सुनिता परियार लगायतको आतिथ्य रहेको थियो ।