हाम्रो विद्यालय तहको शिक्षा प्रणाली सैद्धान्तिक छ । पठनपाठनमा नवीन प्रविधि र विधिको प्रभावकारी प्रयोग नहुँदा विद्यार्थीमा पढाइप्रति रुचि जागृत गराउन सकिएको छैन । यसले विद्यार्थीको सिकाइ उपलब्धि कमजोर हुनाका साथै शिक्षा व्यवहारिक बन्न सक्दैन । विद्यार्थीलाई पठनपाठनप्रति आकर्षित गर्न नसक्दा पठन संस्कृतिसमेत कमजोर बनिरहेको छ । यिनै सन्दर्भमा कमाने एकेडेमीकी शैक्षिक संयोजक सुष्मा शिवाकोटीसँग समृद्ध समाज दैनिकका लागि सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः तपाईंले शैक्षिक संयोजकको रुपमा विद्यालयमा गर्नुपर्ने काम के–के हुन् ?
सुष्माः हाम्रो विद्यालयमा शिक्षकहरुको साप्ताहिक र मासिक योजनाहरु हुन्छन् । मचाहिँ ६ देखि १० कक्षामा पढाउने शिक्षकको साप्ताहिक योजनाहरु हेरेर कहाँनेर मैले सहयोग गर्नुपर्ने हो अथवा पृष्ठपोषण गर्नुपर्ने हो, पहिला त्यसमा काम गर्छु । त्यसपछि कक्षा अवलोकन पनि हुन्छ । योजनाअनुसार उहाँहरुले कक्षा लिइरहनु भएको छ कि छैन ? त्यसमा केहि समस्या भए मैले सहयोग गर्छु । साथै विद्यार्थीहरुलाई नेपाली र अँग्रेजी रिडिङमा सहयोग गर्ने गरेको छु र ६ कक्षादेखि १० कक्षाका विद्यार्थीलाई अँग्रेजी भाषा पढाउँछु ।
समाजः यति धेरै कामको जिम्मेवारीसँगै आफूलाई कसरी तयार गर्नुहुन्छ ? कस्ता समस्या छन् ? कसरी सहजीकरण गर्नुहुन्छ ?
सुष्माः आफूलाई समस्या छ वा गाह्रो छ भने अर्काे कोअर्डिनेटर पनि हुनुहुन्छ । मैले कक्षा लिँदा अवलोकन गर्न पाइन भने उहाँसँग कोअर्डिनेट गर्छु । हामी एउटा टीम भएर काम गर्छाैं । एक्लै भएको भए धेरै गाह्रो हुन्थ्यो ।
समाजः कमाने एकेडेमीले व्यहोर्नु परेको वा तपाईंहरुले पहिचान गर्नु भएको समस्या के छ ?
सुष्माः हरेक नयाँ कार्यमा समस्या त आई नै हाल्छ । तर पनि आए जति समस्यालाई समाधान गर्दै गएका छौंजस्तो लाग्छ । खासै त्यस्तो ठूलो समस्या चाहिँ मैले देखेको छैन ।
समाजः विद्यार्थीका लागि कस्ता क्रियाकलाप गर्ने, कसरी त्यसको संयोजन गर्ने भनेर तपाईंहरु कसरी निर्धारण गर्नुहुन्छ ?
सुष्माः नर्सरीदेखि कक्षा ३ सम्म हाम्रो ग्रेड टिचिङ नै छ । उहाँहरुले थिमबेस नै क्रियाकलाप गर्नुहुन्छ । कक्षा ४ र ५ का लागि सेमिग्रेड टिचिङ छ । उहाँहरुको टर्मवाईज थिम हुन्छ । त्यही थिम अनुसारको के गराउन मिल्छ त्यही गराउनु हुन्छ । र त्यही थिमसँग रिलेट गरेर हामी क्रियाकलाप गराउँछौं ।
समाजः माध्यमिक तहको पठनपाठनको योजना तपाईंहरुले कसरी बनाउनु हुन्छ ?
सुष्माः माध्यमिक तहको पाठ्यपुस्तकबाटै रिलेट हुने खालको क्रियाकलाप गराउँछौं । साथै उहाँहरुलाई धेरैजसो लाइब्रेरीको बुकहरु प्रयोग गर्न लगाउँछौं ।
समाजः अहिले तपाईंहरुले जुन शिक्षण विधि अवलम्बन गर्दै हुनुहुन्छ त्यसलाई विद्यार्थीले सहजै एडप्ट गरिरहेको देख्नुहुन्छ कि अलि असहज भएको देख्नुहुन्छ ?
सुष्माः मैलेचाहिँ अलि सहज नै भएको महसुस गरेको छु । उहाँहरुले आफ्नो विचारहरु पनि हामीसँग राख्ने गर्नुहुन्छ । हामीले किताबकै पाठहरुलाई नै किताबको नभनिकन प्राक्टिकल्ली क्रियाकलापमै गराउँछौं । जसले विद्यार्थीलाई पढ्न अझै सहज गराउँछ ।
समाजः क्रियाकलापमा आधारित शिक्षण विधि अपनाइरहँदा ती सामग्रीहरु खरिदमा खर्च त लाग्छ नै, त्यसका लागि विद्यार्थीले भुक्तानी गर्दै आएको शुल्कमा कति बढि भुक्तान गर्नुपर्छ या विद्यालयको आम्दानीबाटै पुग्छ ?
सुष्माः बजेटको विषयमा मलाई धेरै जानकारी छैन । मलाई थाहा भएसम्म सानो कक्षामा प्रतिविद्यार्थी मासिक पचास वा सय थप शुल्क उठाएको जस्तो लाग्छ । अरुचाहिँ विद्यालयबाट नै व्यवस्थापन हुन्छ ।
समाजः पुस्तकालयको प्रयोगका लागि विद्यालयले के के गरिरहेको छ ?
सुष्माः हामीले नर्सरीदेखि १० कक्षासम्मलाई लाइब्रेरी टाइम राखेका छौं । नर्सरीदेखिकै विद्यार्थी लाइब्रेरी जानुपर्छ । कक्षा ४ सम्म उहाँहरुको कक्षामै लाइब्रेरी कर्नर छ । त्यसका लागि हामीले पढ्ने समयतालिका छुट्याएका छौं । र, त्यही तालिकाअनुसार पढ्ने अन्य कुराहरु उपलब्ध गराउँछौं ।
समाजः साना बालबालिकाले लाइब्रेरीलाई कसरी प्रयोग गर्छन् ? अथवा बुकहरु कत्तिको रुचिका साथ पढिरहेका छन् ?
सुष्माः सानो कक्षाका विद्यार्थीलाई कक्षामा ठूलो स्वरले लाइब्रेरीको बुक पढाउने गर्छौं हामी । उनीहरुको लाइब्रेरी कक्षामै छ । यसरी पढाउँदा उहाँहरुलाई आकर्षित गर्छ । बालबालिकाले च्यात्छ बिगार्छ भनेर बुक नदिने गर्दैनौं । उहाँहरु प्रत्येक दिन लाइब्रेरीको बुकहरु पल्टाउने, जति जानेको छ त्यति पढ्ने गर्नुहुन्छ । यसबाट पढ्ने बानीको विकास हुन्छ ।