मुक्तक मञ्चको बैठक बस्दै ।

हेटौंडाः मुक्तक मञ्च मकवानपुरले ३ जनालाई पुरस्कृत गर्ने भएको छ । बिहीबार मुक्तक मञ्च मकवानपुरको सल्लाहकारसहितको कार्यसमितिको तेस्रो बैठकले ३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

मञ्चका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षतामा बसेको बैठकले आउँदो वार्षिक साधारणसभामा २ जना मुक्तककार र माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताबाट उत्कृष्ट १ जना गरी ३ जनालाई पुरस्कृत गर्ने भएको छ । मुक्तक मञ्च मकवानपुरका अध्यक्ष बर्तौलाले पिताको सम्झनामा स्थापना गर्नुभएको ‘बहादुरानन्द स्मृति मुक्तक पुरस्कार’ सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरेलाई दिने निर्णय भएको छ । जसको राशी ७ हजार ७ सय ७ रुपैयाँ रहेको छ । यस्तै मुक्तक मञ्च मकवानपुरले ‘तारा स्मृति मुक्तक पुरस्कार’ मकवानपुरका अग्रज मुक्तककार देवराज खरेललाई प्रदान गर्ने भएको छ । साहित्यकार किसन पौडेलले स्थापना गर्नुभएको सो पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै मुक्तककार तथा गजलकार श्रीराम अधिकारीले स्थापना गर्नुभएको ‘इन्दिरादेवी अधिकारी मुक्तक पुरस्कार’ मकवानपुरभित्रका माध्यमिक विधालयस्तरीय ९ देखि १२ कक्षाका विद्यार्थीबिच प्रतिस्पर्धा गराई उत्कृष्ट १ जना विद्यार्थीलाई ५ हजार रुपैयाँ प्रदान गरिने निर्णय भएको हो । साथै सो प्रतियोगिता पौष १६ गते मुक्तक मञ्च मकवानपुरले आयोजना गर्ने अध्यक्ष डिबी बर्तौलाले बताउनुभयो ।