बु्ढ्यौली साहित्य समाजका संयोजक आरसी रिजाल ।


आधुनिक समाजमा वृद्धवृद्धा भइसकेका आमाबाबुलाई वृद्वाश्रममा राख्ने क्रम बढ्दैछ । अहिलेको समाजमा सानो तथा एकल परिवारमा रम्ने परिपाटी छ । तर, मकवानपुरका अग्रज साहित्यकारहरुले आफूलाई वृद्धावस्थामा पनि व्यस्त राख्दै साहित्य सृजनाका साथै अन्य क्रियाकलापमा पनि सक्रिय रहन बुढ्यौली साहित्य समाज गठन गरेका छन् । यही बुढ्यौली साहित्य समाज मकवानपुरको दोस्रो वार्षिकोत्सवका अवसरमा समाजका अध्यक्ष आरसी रिजालसँग समृद्व समाज दैनिककी संवाददाता जमुना थिङले गर्नुभएको संवादः

समाजः बुढ्यौली साहित्य भनेको के हो ? यसको आवश्यकता किन पर्‍यो?
रिजालः बुढ्यौलीपनलाई आधार वा विषय बनाएर लेखिएका सबै साहित्य बुढ्यौली साहित्य हुन् । बुढ्यौली साहित्य बुढाबुढीका कथा र व्यथामात्र हैन, यो त विगतलाई आगतसँग जोड्ने सेतु पनि हो । बुढ्यौली उमेर र त्यसले पारेको प्रभाव, अनुभव, अनुभूतिलाई साहित्यले प्रतिनिधित्व गर्छ ।

समाजः यस्तो साहित्य लेख्न बुढाबुढी नै हुनुपर्छ कि ?
रिजालः त्यस्तो हैन । यसमा उमेरको बन्धन छैन । एउटा ५ वर्षे बालकले आफ्ना बाआमाको विषयमा लेख्छ भने त्यो बुढ्यौली साहित्य हो । बालसाहित्य बालकले मात्र लेख्ने हैन । पाका मान्छेले बालबालिकाको बारेमा लेखेको बाल साहित्य हुन्छ । जुनसुकै उमेरकाले पनि यस्ता साहित्य रचना गर्न सक्छन् ।

समाजः नेपालमा यस्ता संस्था कति छन् र यसले कस्ता किसिमका कार्यक्रमहरु गर्छन् ?
रिजालः नेपालको सन्दर्भमा कुरा गर्ने हो भने बुढ्यौली साहित्य समाज मकवानपुर पहिलो हो । २०७८ साउन १ गते यो संस्था विधिवत् दर्ता भएको हो । त्यसपछि भक्तपुर जिल्ला दोस्रो भएको छ । हाल अन्य जिल्लामा पनि खोल्ने क्रम जारी छ । तपाईंले कार्यक्रमको कुरा पनि सोध्नुभयो । हामीले साहित्यमार्फत् वृद्धवृद्धाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयका साहित्य रचना गर्छौं । हामी वृद्वाश्रम खोल्ने कुरा गर्दैनौं । यो संस्था स्थापना भएपछि हामीले थाहा एफएममा पाक्षिकरुपमा कार्यक्रम सञ्चालन गर्दै आएका छौं । बुढ्यौली साहित्यका पुस्तक प्रकाशनसमेत गर्दै आएका छौं ।

समाजः हरेक वर्ष संस्थाको वार्षिकोत्सव हुन्छ । आज संस्थाको वार्षिकोत्सव कसरी मनाउँदै हुनुहुन्छ ?
समाजः आज हाम्रो दोस्रो अधिवेशन तथा वार्षिकोत्सव हो । जसमा मकवानपुरका अग्रज साहित्यकार तुल्सी थापालाई २ लाख रुपैयाँ राशिसहित अभिनन्दन गर्दैछौं । र, अर्को भक्तपुरका साहित्यकार कविराज घिमिरेको बुढ्यौली खण्डकाव्य विमोचन पनि गर्दैछौं । गत वर्ष साहित्यकार नवराज शर्मा र नवलपरासीको साहित्यकार दुर्गा क्षेत्रीलाई सम्मान तथा पुरस्कार वितरण गर्‍यौं ।

समाजः तपाईं मकवानपुरको अध्यक्ष हुनुहुन्छ । यो संस्था खोल्ने सोच कसरी आयो ?
रिजालः यो विषयमा हामीलाई काठमाडौंको एनिङ्ग नेपाल भन्ने संस्थाका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ्मास्टर) को प्रेरणाले हामीलाई यस्तो कार्य गर्न प्रोत्साहन मिलेको छ । उहाँले संस्था दर्ता हुनुभन्दा अगाडि नै मेरो व्यक्तिगत खातामा एक लाख रुपैयाँ नगद राख्नुभयो । नेपालमा बालसाहित्य, महिला साहित्य युवा साहित्यकारहरुको संस्था छन् । बुढाबुढीको खोल्न भने हाम्रो सोचमा चट्याङ्मास्टरले जोश भरिदिनुभयो ।