हेटौंडाः हेटौंडा क्याम्पसको आयोजनामा आज शुक्रबार विद्यालय शिक्षा सुधारमा उच्च शैक्षिक संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हेटौंडामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग छलफल गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त प्रमुख पूर्ण बहादुर दर्जीले विद्यालयहरुमा गुणस्तरीय शिक्षाको अभाव रहेको भन्दै सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा पनि आवश्यक रहेको औल्याउनुभयो । क्पाम्पसमा विद्यार्थी घट्नुको प्रमुख कारण शैक्षिक संस्थाहरुमा एउटै विषय पढाई हुनु रहेको उहाँले दाबी गर्नुभयो । उहाँका अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकले प्रविधिको प्रयोगलाई जोड दिनुपर्छ । कार्यक्रममा सहभागी प्रधानाध्यापकले विद्यालयमा पर्याप्त जनशक्ति नहुनु, नीजि स्रोतबाट विद्यालय संचालमा समस्या, अभिभावक शिक्षा नहुनु, शिक्षकलाई आवश्यक तालिम संचालन गर्न नसक्नु प्रमुख समस्याको रुपमा रहेको औल्याएका छन् ।
कार्यक्रममा जनज्योती माविका प्रधानाध्यापक भोगेन्द्र लुइँटेल, सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्मा, हेटौंडा क्याम्पसका सहायक प्रमुख देवीराम लामा, चन्द्रोदय माविका प्रधानाध्यापक जीधराज ढकाल, प्रगती माविका प्रधानाध्यापक निरञ्जन ढकाल, हेटौंडा क्याम्पसका व्यावस्थापन विभाग प्रमुख लिला ढुंगेल, हेटौंडा क्याम्पस प्राध्यापक संघका अध्यक्ष भूपेन्द्र कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।