हेटौंडाः जनप्रिय माध्यमिक विद्यालय हेटौंडा १६ ले आफ्नो ४७ औं वार्षिकोत्सव आज शुक्रबार विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । बिहीबार र शुक्रबार भएको दुई दिवसीय कार्यक्रममा विवध साँस्कृतिक तथा खेलकुदका कार्यक्रमहरु गरिएको छ ।
प्राथमिक तहका कक्षाहरुमा चम्चा दौड, बेलुन फूटाइ, द्रुत लेखन, घ्याम्पो फूटाइ लगायतका विभिन्न खेलकुद तथा बौद्धिक र साँस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका थिए । यता कक्षा ६ देखि १० सम्म भने छात्र तथा छात्र तथा छात्रातर्फ छोटो तथा लामो दूरीका दौड, हाई जम्प, लङ्ग जम्प, भलिबल, छेलो फ्याक्ने, भाला फ्याक्ने लगायतका प्रतियोगितात्मक कार्यक्रमहरु भएको थियो । बौद्धिकतर्फ द्रूत लेखन, हाजिरीजवाफ प्रतियोगिताहरु भएका थिए ।
जनप्रिय अतिरिक्त क्रियाकलाप तथा साँस्कृतिक विभाग अन्तर्गत रहेका विभिन्न विभागहरुले कार्यक्रमको संयोजन गरेको विभागका संयोजक युक्तलाल विश्वकर्माले जानकारी दिनुभयो । खेलकुदतर्फ संयोजक विजय थिङ्ग, बौद्धिकतर्फ सम्प्रस पौडेल, साँस्कृतिक तर्फ नम्रता शर्मा र शुष्मा दङ्गाल, अनुशासनतर्फ रविन श्रेष्ठ, सञ्चारतर्फ सुनिल गौतम, अनुसन्धान विभागका डा. विजय नेपाल, प्रविधिक धारका संयोजक मोतिउर रहमान लगायतको संयोजकत्वमा कार्यक्रम संयोजन भएको हो ।
यसैबीच जनप्रिय माध्यमिक विध्यालयमा अध्ययनरत प्राविधिक तथा साधारण धारतर्फ विभिन्न संकायमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई शुक्रबार नै स्वागत कार्यक्रम समेत सम्पन्न गरेको छ ।
प्रधानाध्यापक भुपेन्द्र चौलागाईको अध्यक्षतामा भएको समापन कार्यक्रममा व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद पनेरुको प्रमुख आतिथ्यता तथा सदस्य बाला चौलागाई र सहायक प्रधानाध्यापक रामआशिष मण्डलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका सदस्य गोपी दुलाल, पूर्व प्रधानाध्यापक नमराज अर्याल, शिक्षक प्रतिनिधी लक्ष्मी श्रेष्ठ, विव्यस सल्लाहकार वसन्त दाहाल, शिक्षक प्रतिनिधि विष्णुहरि गौतम लगायको उपस्थिति रहेको थियो ।