प्रताप विष्ट वरिष्ठ पत्रकार

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदान गर्न अब ६ दिन मात्रै बाँकी छ । संविधान सभाबाट संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । दोस्रो पटक हुँदै गरेको निर्वाचनमा उम्मेदवार र राजनीतिक दलका विषयमा प्रसस्त आलोचना भइरहेको छ । राजनीतिक दल र तिनका उम्मेदवारहरुमाथि मतदाताले गरिरहेको आलोचनाले यो प्रणालीमै समस्या छ कि भन्नेसम्मको आशंका हुन्छ । तर, निर्वाचनको नियमित प्रक्रियाले राजनीतिक दल र उम्मेदवार सुध्रँदै जाने, मतदाताको अपेक्षा पूरा हुँदै जाने र लोकतान्त्रिक प्रणालीमा सकारात्मक सुधार हुने अपेक्षा गर्नेहरु पनि छन् । यसै सन्दर्भमा मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्टसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार र मतदाताको मनस्थिति कस्तो देखिन्छ ? निर्वाचनको वातावरण कस्तो पाउनुभएको छ ?

विष्टः उम्मेदवारहरु एजेण्डामा केन्द्रीत नभइकन निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न विगत जस्तै क्रियाशील रहेका छन् । उम्मेदवारहरुको मनस्थिति जसरी हुन्छ आफ्नो पक्षमा मतदान होस् भन्नेमा देखिन्छ । अधिकांश दलका उम्मेदवारहरुलाई आफ्नो मतदाता जोगाउन हम्मे–हम्मे परेको छ । विगतमा यस्तो अवस्था उनीहरुले व्यहोर्नु परेको थिएन । आफ्नो कार्यकर्ता र समर्थक हो तर मतदान आफैलाई गर्छ की गर्दैन भन्ने मनोदशाले उनीहरु पिरोलिएका देखिन्छन् । यो भाव उनीहरुको अनुहार र सुक्ष्म खाले व्यवहारले दर्शाउने काम गरेको छ । मतदाताहरुमा समग्रमा भन्नु पर्दा निर्वाचनको उमंग छाएको छैन । भान्सामा मिठो भात नपाके पनि खानु पर्ने बाध्यता हुन्छ त्यस्तै बाध्यता मतदाताहरुलाई छ । उनीहरुले चाहेको र खोजेको जस्तो उम्मेदवार पाएका छैनन् । अधिकांश “टेस्टेड” छन्, नभएकाहरु पनि “टेस्टेड” हरुकै मनोग्रन्थीले ग्रसित देखिन्छन् । चुनावी मोर्चा नयाँ छन्, कार्यशैलीहरु पुरानै भएकाले मतदाताहरु त्यति बढी उत्साहित देखिँदैनन् । मतदाताहरु मत प्रयोग गर्नु पर्छ भन्ने कुरा एकमत देखिन्छन् ।

समाजः निर्वाचनको माहौललाई लिएर यसका सकारात्मक र नकारात्मक पक्ष के–के देख्नुहुन्छ ?

विष्टः आवधिक निर्वाचन हुनुनै मुलुकको निम्ति सकारात्मक पक्ष हो । लोकतान्त्रिक मुलुकमा तोकिएको समयमा निर्वाचन हुनु यो नै सुखद कुरा हो । अहिलेको निर्वाचनमा विगतका वर्षहरुको भन्दा कम खर्चिलो र तडक–भडक कम छ । तर विगतका निर्वाचनहरुमा राजनीतिक एजेण्डाहरु धेरै हुन्थे, राजनीतिक एजेण्डाको आधारमा मतदाताहरु पनि विभाजित हुन्थे । अहिले सिद्धान्तविहिन निर्वाचन भएकाले राजनीतिक एजेण्डाहरु न्युन, विकासे कुरा र आरोप प्रत्यारोपमा सीमित रहन पुगेको छ । अहिलेको सिद्धान्तलाई प्राथमिकता दिएको छैन, सत्ता कब्जा कसरी गर्ने भन्नेमै केन्द्रीत छ ।

समाजः मकवानपुरको प्रतिनिधि सभाका २ क्षेत्र र प्रदेश सभाका ४ क्षेत्रका उम्मेदवारहरुको चरित्र कस्तो छ ?

विष्टः उमेदवारहरुको चरित्रका बारेमा भनिरहँदा आचरणका हिसाबले अधिकांश उस्तै देखिन्छन् । उम्मेदवारको चरित्रले मतदातालाई केही फरक पार्न सक्छ तर उम्मेदवारले विगत र वर्तमानमा गर्दै आएको व्यवहारनै मतदाताले छुट्याउने कसी हो । राजनीतिमा निष्ठाका कुराहरु ओझेल पर्दै गएकाले मतदातालाई पनि जस्लाई मत दिए पनि उस्तै हो भन्ने पनि छ ।

समाजः उम्मेदवारले कस्ता मुद्दा उठाइरहेका छन् ? उम्मेदवारले प्राथमिकता दिनुपर्ने मुद्दा के देख्नुहुन्छ ?

विष्टः प्रतिनिधि सभाका सदस्यहरुको मुख्य जिम्मेवारी नीति निर्माण गर्ने हो तर प्रतिनिधि सभाका उम्मेदवारहरु गोरेटो बाटो, सडक, ढलान, कुलो, खेलकुद मैदान, पुल पुलेसाका कुरा गर्दै हिँडेका छन् । आफू विजयी भएपछि मुलुकमा कस्तो ऐन, कानुन बनाउने ? कस्तो निर्वाचन प्रणाली स्थापित गर्ने ? तलसम्म अधिकार कसरी प्रत्यायोजन गर्ने ? मुलुकमा आर्थिक स्रोत कसरी वृद्धि गर्ने ? जस्ता विषयमा निर्वाचनमा चर्चा हुन सकेको छैन । स्थानीय निर्वाचनमा उठनु पर्ने सवालहरु मतदाताले अहिलेका उम्मेदवारलाई प्रश्नका रुपमा तेस्र्याएका छन् । उम्मेदवारहरु मतदाता भड्केलान् भनेर यस्तैयस्तै कुरामा व्यस्त देखिन्छन् । राज्यका प्रणाली, निर्वाचन प्रक्रिया र पद्दती, मुलुकको अर्थतन्त्र बलियो बनाउनेलगायतका सवाल घरदैलो, कोणसभा, वा आमसभामा उम्मेदवारहरुले मुद्दा रुपमा उठाएका छैनन् । मुलुकमा मुल मुद्दाहरु सबै ओझेलमा छन् ।

समाजः निर्वाचनप्रति आम मतदाताको निराशा बढ्दो क्रममा छ । निराशा बढ्नुको प्रमुख कारण के हुन सक्छ ?

विष्टः तोकिएको अवस्थामा सबै तहको निर्वाचन हुँदै गयो भने मतदाताले यो एउटा मुलुक चलाउने प्रक्रिया हो भनेर बुझ्ने गर्छन् र शान्त रहने गर्छन् । २०७४ सालमा, २०७९ को वैशाखमा र अहिले ६ महिनाकै बीचमा निर्वाचन भएकाले पनि मतदाताहरु यो भइरहने प्रक्रिया हो भनेर पनि बुझेका होलान् । आवश्यक परेको बेलामा नयाँ कपडा र मासु किनेर खान सक्ने परिवारका बालबच्चा दशैंमा लुगा किन्दा र मासु ल्याउँदा खुशी हुन्छन् तर सामान्य । त्यस्तै होला मतदातालाई । अर्कोतिर दलका नेता र सरकार एवम् जनप्रतिनिधीहरुको क्रियाकलाप र आचरणका कारणले पनि सचेत मतदाताहरु निराश देखिएका छन् । उनीहरु परिवर्तनको खोजीमा छन् । नेतृत्व गर्न सक्दैनन् ।

समाजः स्वतन्त्र उम्मेदवारहरुको पनि चर्चा देखिन्छ । मकवानपुरमा स्वतन्त्र उम्मेदवारहरुको गतिविधि र उनीहरुले जनमत प्राप्त गर्ने सम्भावना कस्तो छ ?

विष्टः दलका नेता, सरकार जनप्रतिनिधीहरुको व्यवहारले मतदाताहरु सन्तुष्ट छैनन् । त्यही असन्तुष्टिलाई आफुतर्फ आकर्षित गर्न स्वतन्त्र उम्मेदवार दिनेहरु पनि छन् । मकवानपुरमा पनि प्रतिनिधी र प्रदेश सभा सदस्यमा स्वतन्त्रहरुले उम्मेदवारी दिएको देखिन्छ । तर आजसम्म आम मतदातालाई आकर्षित गर्न त्यति सफल भएका छैनन् ।

समाजः आम मतदाताले निर्वाचनका बेला ध्यान दिनुपर्ने पक्षहरु के हो ?

विष्टः आम मतदाताले निर्वाचनका बेलामा उम्मेदवार भएकामध्ये कम वेईमानलाई मतदान गर्नु पर्छ । कसैको लोभलालच र प्रलोभनमा पर्नु हुँदैन । मतदाताले ईमान्दारिताका साथ मतदान गर्न सकेमा निर्वाचनको औचित्य पुष्टि हुनुको साथै मुलुकले पनि भएकामध्ये राम्रो जनप्रतिनिधी पाउँछ ।