कात्तिक महिनायता मौसममा परिवर्तन भएको छ । वर्षा याम सकिएर हिउँद याम सुरु भएसँगै चिसो बढेको छ । चिसो मौसम सुरु हुन लाग्दा सामान्यतः आनन्द महसुस भएको छ । वर्षाको हिलो, मैलो, झरी, गर्मी सकिएर शितल मौसम सुरु भएसँगै आनन्द मान्दै गर्दा चिसोले स्वास्थ्यमा पार्न सक्ने प्रभावका विषयमा पनि सचेत हुनु जरुरी छ । विशेषगरी नवजात शिशु, बालबालिका, ज्येष्ठ नागरिक, रोगले ग्रस्त मानिसलाई चिसो मौसममा बढी जोखिम रहन्छ । चिसो मौसमको सुरुवातको समयमा शिलत महसुस गरेर आनन्दित भइरहँदा चिसो मौसम, बतासले पार्ने प्रभावप्रति पनि सचेत हुनुपर्छ ।

मौसम परिवर्तनको समय भएकोले सतर्कता अपनाइएन भने विशेषगरी रुघा, खोकी, ज्वरो जस्ता स्वास्थ्य समस्या देखा पर्ने जोखिम रहन्छ । सामान्यतः हामी रुघा, खोकी, ज्वरो जस्ता स्वास्थ्य समस्यालाई सामान्य मान्छौं । यद्यपि पछिल्लो समय कोभिड–१९ र डेंगु जस्ता संक्रामक र गम्भीर प्रकृतिका स्वास्थ्य समस्याका प्रमुख लक्षण नै ज्वारो, रुघा, खोकी देखिएको छ । सामान्य जस्तो देखिने लक्षणमा गम्भीर प्रकृतिका समस्या भएर मृत्यु समेत हुने जोखिम एकातर्फ छ भने अर्कोतर्फ स्वास्थ्य उपचारमा रहेको जटिलता अर्को समस्याको रुपमा छ ।

विशेषतः हाम्रा सार्वजनिक स्वास्थ्य संस्थाहरु गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कमजोर रहेका कारण सामान्य भन्दा सामान्य स्वास्थ्य समस्याको समाधानमा पनि नागरिकले ठूलो धनराशी खर्चनुपर्ने अवस्था छ । कतिपय अवस्थामा आर्थिक व्ययसँगै ज्यान पनि गुमाउनुपर्ने अवस्थाले पीडित परिवार दोहोरो मारमा व्यहोर्न बाध्य छन् । आमरुपमा नागरिक सहज स्वास्थ्य उपचारको अभावमा जन र धन दुबै गुमाउन बाध्य भइरहँदा राज्य व्यवस्था र सरकारको बेवास्ताले नागरिक उत्तिकै विक्षिप्त हुनुपर्ने अवस्था छ । आजको उत्तरआधुनिक समयमा समेत स्वास्थ्य जस्तो आधारभूत सेवाबाट बञ्चित हुनुपर्ने जोखिमकै कारण आज क्षमता हुनेहरु युरोप, अमेरिकासँगै विकसित एसियाली मुलुक बसाई सर्न आतुर छन् ।

यावत समस्याका बीच पनि नागरिक आफैं जिम्मेवार हुनु जत्तिको प्रभाकारी उपाय अरु हुन्न । नागरिक आफैंले यो परिवर्तित मौसममा आवश्यक सतर्कता अपनाएर जोखिमको सामना गर्नु नपर्ने स्थितिमा रहन सकेको खण्डमा जन र धन दुबैको संरक्षण हुनुका साथै आफ्नो नियमित काम र निर्धारित लक्ष्य हासिल गरी सहज जीवनयापन गर्न सम्भव हुनेछ । स्वास्थ्य समस्या भनेको व्यक्तिमै निहित व्यवहारबाट बढी प्रभावित हुने भएकोले हरेक व्यक्ति र परिवारले आ–आफ्नो स्वास्थ्यमा ध्यान दिई समस्यारहित रहन सके राम्रो हुनेछ । व्यक्ति र परिवारको सचेतताले समुदायकै स्वास्थ्य अवस्थामा सुधार गर्न सकिन्छ । यद्यपि स्वास्थ्यमा देखापर्ने समस्याका विषयमा चिकित्सकसँगको परामर्श र स्वास्थ्य परीक्षणपछि मात्रै औषधि सेवन गरी स्वास्थ्य लाभको प्रयास गर्नु जरुरी हुन्छ । हाम्रो समुदायमा स्वास्थ्यमा देखिने समस्या समाधानका लागि चिकित्सकलाई नभेटी अनुमानको भरमा औषधि सेवन गर्ने प्रचलन पनि उत्तिकै हानिकारक छ ।