२०७९ सालको बडादशैंले नेपालीको घर–आँगन र मन–मस्तिष्कलाई ढपक्कै छोपिसकेको छ । घटस्थापनाको दिन जमरा राखेदेखि नै दशैं भित्रने गर्दछ । घटस्थापनादेखि नौ दिनसम्म नवदुर्गाको पूजा, आराधना गरिन्छ । दशौं दिन देवी विसर्जन गरेर विजयादशमीको टीका लगाइन्छ । दशौं दिन अर्थात् आश्विन शुक्ल दशमीदेखि पूर्णिमासम्म मान्यजनको हातबाट टीका, जमरा लगाएर आशीर्वाद लिएपछि बडादशैंको औपचारिकता पूरा हुन्छ । यसरी दशैंलाई १५ दिनसम्म खुशी र हर्षका साथ मनाउने गरिन्छ । दशैं हिन्दू धर्मावलम्बी नेपालीहरुको मुख्य चाड भए पनि यसको प्रभाव सबै धर्मका नेपालीहरुमा पर्ने गरेको छ । धार्मिक, सांस्कृतिक, भाषिक एवम् जातीयरुपमा मिश्रित समुदाय भएका कारण नेपालका हरेक क्षेत्रका सबै मानिसमा दशैंको कुनै न कुनै प्रभाव पर्ने गरेको छ ।

दशैं सुरु भइसकेकाले हुनेखाने र हुँदाखाने दुबै थरीका नेपालीहरु आ–आफ्नो गक्ष र लक्ष्यअनुसार दशैंको तयारीमा जुटेका छन् । दशैंलक्षित सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता व्यापकरुपमा भइरहेको छ । औपचारिक शुभकामना आदानप्रदानका कार्यक्रमहरुको बाढी नै लागेका छन् । बजारका हरेक पसलमा ग्राहकको भिडभाड छ । लामो तथा छोटो दुरीका सार्वजनिक सवारीमा यात्रुको घुइँचो छ । घुमघाम गर्नेहरुको लर्को पनि उत्तिकै छ । देश–विदेशमा पुगेर रोजगारी वा अन्य काममा लागेकाहरुको घर फर्कने क्रम बाक्लिएको छ । बिहान झिसमिसेमै उठेर मन्दिर धाउनेको संख्या पनि कम छैन । सार्वजनिक स्थानमा हालिएको लिङ्गेपिङ खेल्नेहरुको लाइन पनि उस्तै छ । शहर बजारका पनि घरघरमा खसीबोका कराउन थालेका छन् । यी सबै दशैंको आगमनका विशेषताहरु हुन् ।

धार्मिक हिसाबले नेपाली हिन्दूहरुको प्रमुख चाड भए पनि दशैं सबै नेपालीको साझा पर्व र संस्कृति बन्दै गएको छ । हिन्दूहरुको अलावा अन्य धर्मका नेपालीले पनि दशैंलाई आफ्नै ठान्दछन् र यस पर्वमा आफू पनि रमाउँछन् । दशैं समान ढंगले सबैलाई आउने भए पनि कसैलाई दशैं दशा र कसैलाई उत्सव हुने गरेको छ । दशैंले सबै नेपालीलाई एकनाश खुसी तुल्याउन सकेको छैन । पूर्वीय मान्यताअनुसार आसुरी शक्तिमाथि दैवीशक्तिले विजय प्राप्त गरेको खुशीयालीमा दशैं मनाउने गरिन्छ । यही खुशीयालीमा वर्षेनि दशैं मनाउँदै आए पनि आसुरी प्रवृत्तिमाथि विजय प्राप्त गर्नेतर्फ हामी संवेदनशील बन्न सकेका छैनौं । हाम्रा राजनीतिक, सामाजिक तथा धार्मिक संस्कारभित्र थुप्रै आसुरी प्रवृत्तिहरु छन् । ती प्रवृत्तिहरु घट्नुको साटो झन् बढेको छ ।

दशैं सबै नेपालीको घरमा खुसी ल्याउने माध्यम बन्नु आवश्यक छ । दशैं खुशी र उत्साहको पर्व भए पनि गाँस, बास र कपासजस्ता न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न नसक्नेहरुका लागि यो दशाजस्तो बन्न पुग्छ । गाउँघरमा आज पनि ‘आयो दशैं ढोल बजाइ, गयो दशैं ऋण बोकाइ’ भन्ने भनाई मननीय छ । तडकभडक र अनावश्यक खर्च गरेर होइन, मितव्ययी भएर दशैं मनाऔं । दशैंमा दिने र लिने शुभकामनाले हाम्रो राजनीतिक, धार्मिक, सामाजिक, नैतिक संस्कारअन्तर्गत्का बेथितिहरुको अन्त्य गर्न सकोस् । आपसमा शुभकामना आदान–प्रदान गरेर, आपसी सद्भाव कायम गरेर, आपसमा रमाइलो गरेर, मान्यजनबाट टीका आशीर्वाद थापेर दशैं मनाउन सकौं । हाम्रा सम्पूर्ण पाठक, विज्ञापनदाता, सहकर्मी, शुभेच्छुक, सहयोगी एवम् सम्पूर्ण नेपालीहरुको दशैं सुखद् र मंगलमय बनोस् । बडादशैंको हार्दिक शुभकामना ।