उपमेयर कप भलिबल प्रतियोगितामा महिलातर्फको खेल । फाइल तस्विर ।

हेटौंडाः हेटौंडामा जारी उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको सेमीफाइनल समीकरण पूरा भएको छ । सेमीफाइनल चरणमा ५ नम्बर वडाले ९ नम्बर वडासँग प्रतिस्पर्धा गर्नेछ भने १७ नम्बर वडाले १९ नम्बर वडाको सामना गर्नेछ ।

हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविको खेलमैदानमा शनिबार दिउँसो २ बजेदेखि सेमीफाइनल चरणको खेल हुने प्रतियोगिताका संयोजक राजु घलेले जानकारी दिनुभएको छ । शनिबार बिहान भएको खेलमा १५ नम्बर वडालाई पराजित गर्दै ५ नम्बर वडा सेमीफाइनल चरणमा प्रवेश गरेको हो भने ९ नम्बर वडाले ६ नम्बर वडालाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो । यस्तै आजै बिहान भएको खेलमा ११ नम्बर वडालाई पराजित गर्दै १७ नम्बर वडा सेमीफाइनल प्रवेश गरेको हो भने १९ नम्बर वडाले १२ नम्बर वडालाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताअन्तर्गत फाइनल खेलहरु आइतबार हुनेछ । यस्तै पुरुषतर्फका खेल हुप्रचौरमा भइरहेको छ । क्वार्टरफाइनल चरणको खेल शनिबार दिउँसोबाट सुरु भएको छ । क्वार्टरफाइनल चरणमा १२ नम्बर वडाले १३ नम्बर वडाको सामना गर्दैछ भने ६ नम्बर वडाले १७ नम्बर वडाको सामना गर्नेछ । यस्तै ११ नम्बर वडाले १६ नम्बर वडाको सामना गर्दा ५ नम्बर वाडले १९ नम्बर वडाको सामना गर्नेछ ।