हेटौँडाः बागमती प्रदेश क्रिकेट संघको आयोजनामा सुरु भएको बागमती प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा मकवानपुर जिल्ला क्रिकेट संघको टिमले विजयी सुरुवात गरेको छ । मंगलबार चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमै चितवन जिल्ला क्रिकेट संघलाई मकवानपुरले ७१ रनले हराएको हो ।
टस हारेर पहिले व्याटिङको निम्तो पाएको मकवानपुरले ४८ ओभर ५ बलमा १ सय ४३ रन बनाउँदै अलआउट हुन पुग्यो । मकवानपुरका टिम कप्तान सुमन सुनारले सर्वाधिक ४९ रन बनाए । यस्तै गौरव खड्काले १९ रन बनाएका थिए । तक्षक सिम्खडाले १४ रन, युविन बुढाथोकीले १३ रन, रिजन ढकालले १३ रन र विशाल फूयालले ११ रन बनाएका थिए ।

बलिङतर्फ चितवनका दिपेश श्रेष्ठले सर्वाधिक ४ विकेट लिए । विशाल खत्रीले २ विकेट लिए । जवाफी व्याटिङमा उत्रिएको चितवनले ३१ ओभर ४ बलमा ७२ रन बनाउँदै अल आउट हुन पुग्यो । चितवनका रोशन झाले १२ रन र प्रतिक श्रेष्ठले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
मकवानपुरका साकार गजुरेलले सर्वाधिक ३ विकेट लिए । यस्तै, रिजन ढकाल र अशिम श्रेष्ठले समान २/२ विकेट लिए । म्यान अफ द म्याच मकवानपुरका रिजन ढकाल घोषित भए । समूह चरणको दोस्रो खेलमा मकवानपुरले बिहिबार नुवाकोट जिल्लाको क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्नेछ ।