हेटौँडा : बागमती प्रदेशको सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौं कालिमाटीस्थित अस्पतालमा उपचारको क्रममा थापाको मृत्यु भएको हो ।
थापा सोमबार आफ्ना साथीको कोठामा अचेत अवस्थामा भेटिएका थिए । अचेत अवस्थामा भेटिएका थापालाई तत्काल कालिमाटी कै अस्पताल लगिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । धादिङ जिल्लाको धुनीबेशी–९ का ३६ वर्षीय थापाले आफ्ना साथी धुनिवेशी–८ घर भई हाल काठमाडौं–१४ लिगमार्ग कलंकीमा बस्ने २१ वर्षीय शिव कुँवरको डेरामा आइतबार दिउँसो २ बजे विषादी सेवन गरेको प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोठामा कोहि नभएको अवस्थामा उनले विषादी सेवन गरेको र कोठामा थापाका दाई पुग्दा अचेत अवस्थामा भेटिएका थिए । थापालाई तत्काल उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल पु¥याइएको र उपचारको क्रममा साँझ ६ः३८ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक बोहराले बताउनुभयो । उनको साथबाट एक पेजको पत्र समेत बरामद भएको र सो पत्रमा सहकारीको पैसा लनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो वेइज्जत भएको उल्लेख गरिएको बोहराले बताउनुभयो ।
थापा गत शुक्रबार मन्त्री श्रेष्ठसँगै काठमाडौं गएका थिए । आइतबार थापाकी छोरीको जन्मदिनको समारोहमा सहभागी हुन हेटौँडा नफर्की काठमाडौंमा नै रहेका थिए । काम विशेषले शनिबार मन्त्री श्रेष्ठ रौतहटमा जानुपर्ने भएकाले थापालाई काठमाडौं नै छाडेर फर्किएका थिए । आइतबार छोरीको जन्मदिन मनाएर उनी राति १० बजे कोठाबाट बाहिरिएका थिए । सो पश्चात उनी परिवारको सम्पर्कमा पुगेनन् ।
सुमेरु सहकारीका विषयमा गत आइतबार सार्वजनिक भएको अडियोका सन्दर्भमा थापाको घटना जोडिएको प्रहरीको भनाई छ । सुमेरु सहकारीका पूर्व सचिव समेत रहेका विनोद आचार्यसँग सो सहकारीको समस्या मिलाउने विषयमा थापाको अडियो क्लिप सार्वजनिक भएको गरिएको मन्त्री श्रेष्ठले बतानउभुयो । सो अडियोमा सहकारीका संचालक सहित थापा र धादिङका राजु बर्तौलाको आवाज हेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
अडियोमा सहकारीको समस्या मिलाउने विषयमा बार्गेनिङ भएको र संलग्न रहेको भन्दै गर्तौलालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । अडियो क्लिपको बारेमा सामान्य सोधपुछपछि गर्तौलालाई छाडिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । सो अडियो क्लिप परीक्षणको क्रममा रहेको र सो पश्चात थप प्रक्रिया अघि बढाउने उहाँको भनाई छ । प्रहरी परिसरले मृतक थापाको विषयमा अनुसन्धान गरिरहेको र सोको निर्देशन अनुसार आवश्यक कारवाही अघि बढाउने उहाँले बताउनुभयो ।
मृतक थापाको साथबाट प्राप्त पत्रमा मन्त्री श्रेष्ठ र सचिवालयले राम्रो काम गरेकाले बदनाम गर्न आफ्नो अडियो सम्पादन गरी प्रयोग गरेको उल्लेख गरिएको मन्त्री श्रेष्ठको भनाई छ । थापाको शव टिचिङ अस्पतालमा राखिएको छ भने घटना बारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ । स्वकीय थापाको अडियोमा उल्लेख भएको सुमेरु सहकारीलाई मन्त्रालयले गत पुस २८ मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । सो सहकारीले मन्त्रालयको निर्णयको विरुद्धमा सर्वोच्चमा रिट समेत दायर गरेर अल्पकालिन आदेश लिएका छन् । उक्त सहकारीको विषयमा सर्वोच्चले छलफलका लागि बोलाएको छ ।