हेटौँडा : धादिङ जिल्लाको गल्छि गाउँपालिका–३, गुप्तेश्वरभिरमा ट्याङकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट खस्दा २ जनाको मृत्यु भएको छ । बुधबार बिहान २ बजेको समयमा गुप्तेश्वरभिरस्थित भित्रि सडकमा आदामघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको बा.प्र ०१–००४ क ३३५२ नम्बरको ट्याङकर ब्याक गर्ने क्रममा सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा गुजुरी–६ का १८ वर्षीय प्रशान्त चेपाङ, २० वर्षीय जयराम चेपाङ, १९ वर्षीय सिरिश चेपाङ र १७ वर्षीय सुरेश चेपाङ गम्भिर घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएकोमा प्रशान्त र जयरामलाई बिहान ६ बजेर २० मिनेटको समयमा मृत घोषणा गरेको थियो । सिरिश र सुरेशलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । ट्याङकर चालक धादिङ गजुरी गाउँपालिका–६, २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।