हेटौंडाः पोखरा उपमहानगरपालिकाको पोखरा थण्डर्सको टिम प्रशिक्षकमा मकवानपुरका भेट्रान्स फुटबल खेलाडी सुवीन घिमिरे नियुक्त हुनुभएको छ । चैत १६ गतेदेखि सुरु हुने तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा सहभागी हुन लागेको पोखरा थण्र्डसको टिम प्रशिक्षकमा घिमिरे नियुक्त हुनुभएको हो ।

पोखरा थण्डर्स क्लबको सोमबार बसेको बैठकले मकवानपुरका घिमिरेलाई टिम प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि टेक्निकल टिमको जिम्मेवारी पाउनु भएका घिमिरेललाई सोमबार प्रशिक्षकको जिम्मेवारी दिने निर्णय भएको उहाँले जानकारी दिनुभएको छ ।

मकवानपुरका पूर्व ‘ए’ डिभिजन खेलाडीसमेत रहनुभएका घिमिर हेटौंडा–५ स्थित पिप्ले युवा क्लबको अध्यक्षसमेत हुनुहुन्छ । एएफसी ‘बी’ लाइसेन्स प्राप्त घिमिरे ‘ए’ डिभिजन सरस्वती युवा क्लब टिमको क्याप्टेनसमेत हुनुभएको थियो । उहाँ विसं २०६२ सालदेखि सरस्वती युवा क्लबबाट विभिन्न प्रतियोगितामा सहभागी हुँदै आउनुभएको हो ।

घिमिरेसँगै पोखराको टिमबाट सुमन श्रेष्ठले मुख्य टिम प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुनेछ । तेस्रो संस्करणको एनएसएल फुटबल प्रतियोगितामा झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, बुटवल, ललितपुर सिटी, लुम्बिनी एफसी, धनगढी एफसीलगायत टिमको सहभागिता रहने उहाँले बताउनुभयो । प्रतियोगितामा विभिन्न क्लबहरुबाट मकवानपुर जिल्लाका ७ जना खेलाडीहरुको सहभागिता रहने बताइएको छ ।