५० बर्षअघि हेटौंडाका सडक, बजार, घर, मानिसका रहनसहन, चाडपर्व कस्तो थियो होला ? यी आम जिज्ञासा हुन् । तर, ५० बर्षअघि पुस्तक पसल कसरी सुरुवात भयो ? भन्ने विषय नौलो हुन सक्छ । ५० बर्ष पहिले अर्थात २०२९ सालमा मकवानपुर जिल्लाकै पहिलो पुस्तक पसलको रुपमा सञ्चालनमा आएको मंगल पेपर मार्टका सञ्चालक प्रेमलाल श्रेष्ठसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
तपाईहरुले ५० वर्षअगाडि सञ्चालन गर्नुभएको मंगल पेपर मार्टको शुरुवाती समय कस्तो थियो ?
श्रेष्ठः हाम्रो मंगल पेपर मार्ट मकवानपुर जिल्ला कै पहिलो पुस्तक तथा स्टेशनरी पसल हो । त्यसबेलामा विद्यार्थीले पूरानो किताबहरु नै पढ्नुपर्ने बाध्यता थियो । त्यसपछि मेरो दाई हिरालाल श्रेष्ठले वीरगन्ज कलेज पढ्दै गर्दा काकाको सल्लाह अनुसार पुस्तक पसल सञ्चालन गर्नुभएको थियो । शुरुवाती दिनदेखि नै मैले पनि दाईलाई सहयोग गर्दै आएको थिएँ । त्यतिबेला थोरै लगानीबाट शुरुवात गरेको भएपनि अहिले यसले ठुलो रुप लिएको छ ।
पुस्तक पसल, स्टेशनरी व्यवसाय नै गरौं भन्ने आशय तपाईहरुमा कसरी आयो ?
श्रेष्ठः हाम्रो संयुक्त परिवार थियो । हामी सबै दाजुभाई र दिदीबहिनीहरु कलेज तथा स्कुल पढ्दै थियौं । त्यसकारण हामीलाई धेरै स्टेशनरी सामानहरु आवश्यकता पथ्र्याे । विस्तारै सरकारी कार्यालयहरुलाई पनि स्टेशनरी सामानहरुको आवश्यकता पर्दै गयो । आवश्यक स्टेशनरी सामानहरु किन्न काठमाडौं र वीरगन्ज पुग्नुपर्ने बाध्यता देखियो । त्यसैले हामीले स्टेशनरी सामान किन्न टाढा जानु नपरोस् भनेर स्टेशनरी पसल खोलेका हौं ।
शुरुवाती अवस्थामा पसलबाट के–के सामानहरु बेच्नु हुन्थ्यो ?
श्रेष्ठः त्यसबेला हामीले विद्यार्थीहरुलाई लक्षित गरेर विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न प्रकाशनका पुस्तकहरु बेच्थ्यौं । त्यसका बावजुत पनि हामीले सेवाको भावनाले सरकारी पुस्तकहरु पनि डिलरको रुपमा ल्याएर बेच्थ्यौं । हामीले आयआर्जन भन्दा पनि विद्यार्थीको हातहातमा पुस्तक पुर्याउने उद्देश्यले शुरुवात गरेका थियौं ।
स्टेशनरी व्यवसाय कसरी विकसित हुँदै गयो र आज कस्तो अवस्थामा पुगेको छ ?
श्रेष्ठः विकट जिल्ला भएकोले त्यतिबेला टाढा–टाढाबाट पुस्तक किन्न आउँदा एक रात बास नै बस्नुपर्ने अवस्था थियो । उहाँहरुलाई घर फर्कन ढिला हुन्छ भनेर हामीले बिहान ४ बजे नै पसल खोल्नुपथ्र्याे । त्यसरी नै हामीले मकवानपुरका दूरदराज ठाउँहरुमा सेवा प्रदान गर्दै आएका थियौं । विस्तारै व्यवसायहरु विकास र विस्तार हुँदै गयो । यसरी नै आजसम्म आउँदा हेटौंडाडामा मात्र लगभग ५० स्टेशनरी पसल व्यवसायहरु रहेका छन् । त्यसपछि हामीहरुबीच प्रतिस्पर्धा बढ्दै गए सँगै हाम्रो संगठन पनि बनिसकेको छ ।
पछिल्लो समय पुस्तक व्यवसायीहरु सेवामुखी भन्दा नाफामुखी हुँदै गएको छ नि ?
श्रेष्ठः नेपाल सरकारमार्फत उत्पादित जनक शिक्षाले वितरण गर्ने सरकारी पुस्तकहरुको बिक्रीमा कसैले पनि तोकेको भन्दा बढी नाफा खान पाउँदैन । तर निजी क्षेत्रका पुस्तकहरुमा निश्चित प्रतिशत कमिसन दिएको हुन्छ । त्यसमा पनि हामीले आफ्नो ग्राहकहरुलाई केही प्रतिशत छुट दिएर बेच्छौं । विस्तारै व्यवसायमा भएको विस्तारले गर्दा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको छ । सामानको गुणस्तर घटेसँगै सामानको पर्याप्त मात्रा बढी र तुलनात्मक रुपमा प्रतिस्पर्धा बढ्दै गएको छ ।
शैक्षिक क्षेत्रमा पुस्तक व्यवसायले कस्तो भूमिका निर्वाह गर्दै आएको छ ?
श्रेष्ठः हामीले स्टेशनरी सञ्चालन गरिसकेपछि यहाँका विद्यालय तथा शैक्षिक संस्थाहरुलाई धेरै सुविधा भएको छ । शैक्षिक संस्था तथा शिक्षकहरुको असुविधालाई घटाउन हामीले जहाँबाट जसरी हुन्छ त्यसरी नै सबै विद्यार्थीहरुको हात हातमा पुस्तक पुर्यायौं । हामीले नाफालाई भन्दा बढी सेवाको भावनाले ठूलो संघर्ष गरेर समाज बदल्ने काममा योगदान पुर्याउन सफल भयौं । हामीकहाँबाट पुस्तक किनेर पढ्नेहरु धेरैजना डाक्टर, पाइलट, इन्जिनियर लगायत ठूला ठूला मान्छे बनिसकेका छन् । त्यसकारण मकवानपुरको शैक्षिक उन्नतिका लागि निर्वाह गर्नुपर्न भूमिका निर्वाह गरिरहेका छौं ।
पठन संस्कृतिको विकास तथा आम नागरिकलाई पुस्तक पढ्न प्रेरित गर्ने खालको अभ्यास पुस्तक व्यवसायीबाट हुन सकेको छैन नि ?
श्रेष्ठः हामीले सकेसम्म अभिभावक, विद्यार्थी लगायत सम्पूर्ण ग्राहकहरुलाई आवश्यक परेको पुस्तक तुरुन्त वितरण गर्दै आएका छौं । हामीसँग नयाा र पुराना गरी हजार भन्दा बढी थरीका पुस्तकहरु रहेका छन् । पुस्तकसँगै व्यवसायमा स्टेशनरी पनि जोडिएकाले धेरै प्रकारका स्टेशनरी सामग्री, अन्य पुस्तकहरु तथा पाठ्यक्रमको पुस्तकहरु हुने भएको कारणले गर्दा देखाएर राख्न एकदम गाह्रो छ । त्यसकारण हामी सबै व्यवसायसँग पुस्तकहरु त छन् तर कुन पुस्तक कहाँ छ भन्ने चाहिँ थाहा छैन । पुस्तकमात्रै बेच्दा पुस्तकबाट कमिसन कम पाउने भएकोले हामीले यस्तो गर्न नसकेको हो ।
स्टेशनरी व्यवसायलाई कसरी पुस्तकको आकर्षक केन्द्र बनाउन के गर्न सकिन्छ ?
श्रेष्ठः यसका लागि हामीलाई पर्याप्त ठाउँको आवश्यकता पर्छ । पुस्तकहरुलाई तिनीहरुको विषयअनुसार राजनीतिक, साहित्यिक, इतिहास लगायत आ–आफ्ना क्षेत्रमा छुट्याएर राख्न सक्नुपर्छ । बालबालिकाका लागि कथाका किताबहरु, विद्यार्थीका लागि पाठ्यक्रमका किताबहरु, राजनीतिज्ञहरुका लागि राजनीतिक पुस्तकहरु, युवाहरुका लागि साहित्यिक पुस्तकहरु र विभिन्न धार्मिक, सांस्कृतिक पुस्तकहरु राख्न सक्यो भने राम्रो हुन्छ ।