फाइल तस्बीर ।

हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्नाको आवेदन खुलेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबारदेखि म्यादी प्रहरी भर्नाका लागि आवेदन लिन सुरु गरेको हो ।

बिहीबार मकवानपुरमा म्यादी प्रहरीका लागि पहिलो दिन ३ सय ४९ जनाले आवेदन दिएका छन् । बिहीबार पहिलो दिन २ सय २७ जना पुरुष र १ सय २२ महिलाले म्यादीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । यसपटक मकवानपुरमा गत स्थानीय तहको निर्वाचनको सुरक्षामा खटाइएको म्यादी प्रहरीको संख्याभन्दा ३ सय जनासम्म थप हुनसक्ने प्रवक्ता कार्कीले बताउनुभयो । गत स्थानीय तहको निर्वाचनमा मकवानपुरमा १ हजार ४ सय ७२ जना म्यादी प्रहरी निर्वाचन सुरक्षाका लागि खटाइएको थियो ।

म्यादीका लागि अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उपस्थित भएर आवेदन दिन सकिने उहाँले बताउनुभयो । असोज ७ गते सम्पर्क मिति तोकिएको र ९ गतेदेखि १४ गतेसम्म छनौट गरिने उहाँले बताउनुभयो । यस पटक म्यादी प्रहरी छनौट गर्दा यसअघिको निर्वाचनमा म्यादी प्रहरीको रुपमा काम गरेको, नेपाली सेना र प्रहरीमा कार्यरत रही निवृत्त भएकाहरुलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । आवेदन दिने आवेदक १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने र साधारण लेखपढ गर्न जान्ने हुनुपर्ने उहाँले बताउनुभयो ।