आज ५८ राष्ट्रिय बाल दिवस । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ बाल दिवस मनाइँदैछ । नेपालमा हरेक वर्ष भदौ २९ गते बाल दिवस मनाइन्छ । वि.सं २०२१ सालदेखि भदौ ४ गते मनाइँदै आएको बाल दिवस २०६२÷०६३ को जनआन्दोलनले ल्याएको परिवर्तनसँगै त्यसपछि भदौ २९ गते यो दिवस मनाउने गरिएको छ । २०६३ अघि रानी रत्नराज्यको जन्मदिवसको अवसरमा यो दिवस मनाउने गरिएकोमा राजपरिवारको अधिकार कटौतीसँगै २०६३ सालदेखि बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिमा नेपालले हस्ताक्षर गरेको दिनको अवसर पारेर नेपालमा यो दिवस मनाउन थालिएको हो ।

प्राविधिकरुपमा जुन दिन दिवस मनाइए पनि दिवस मनाउनुको सार्थकता हुनुपर्छ । विभिन्न क्षेत्र र विषयमा गहन चर्चा गर्ने दिनको रुपमा दिवस मनाउने गरिन्छ । हरेक दिवसमा घोषणा गरिने एक थान नाराले महत्वपूर्ण सन्देश बोकेको भए पनि सोअनुरुप काम भने हुन सकेको देखिँदैन । हरेक वर्षको बाल दिवसको नाराले पनि सान्दर्भिक विषयमै बहस अघि बढाउन खोजेको हुन्छ, तर उक्त नारालाई सार्थक बनाउन सकिएको पाइँदैन । यस वर्षको बाल दिवसको नारा पनि निकै महत्वपूर्ण रहेको छ । बालबालिकाले बालमैत्री वातावरण पाउनुपर्छ । यसका लागि समाज नै बालमैत्री हुनुपर्छ । बालमैत्री समाजका लागि परिवार र सरकार उत्तरदायी हुनुपर्ने गम्भीरतालाई नाराले उजागर गरेको छ । राष्ट्रिय बाल दिवस मनाउनुको सार्थकता आम नेपाली बालबालिकाको अधिकार प्रत्याभूत हुने व्यवस्था कायम गर्न÷गराउन सक्नुमा रहन्छ । तर, हाम्रो परिवेशमा बाल दिवसलाई सामान्य औपचारिकता पूरा गर्ने हिसाबले परम्परागतरुपमा मनाउने गरिएको छ । बालबालिकालाई सहभागी गराएर विभिन्न अतिरिक्त क्रियाकलापमै बाल दिवस सिमित रहने गरेको छ । बालबालिकाको सहभागितामा एक दिन खेलकुद, मनोरञ्जन र सिमित प्रतियोगिता सञ्चालन गर्दैमा बाल अधिकारको प्रत्याभूति हुन सक्दैन । यसरी मनाइएको बाल दिवसले बालबालिकालाई केही घण्टा खुशी बनाए पनि त्यसले बालबालिकाको चोतर्फी विकासमा दीर्घकालीन प्रभाव पार्दैन ।

बाल दिवस कस्तो हुनुपर्दछ वा बाल दिवस कसरी मनाउनु पर्दछ भन्ने विषयमा सरोकारवाला पक्षबीच गहन विचारविमर्श हुनु आवश्यक छ । बाल दिवसलाई औपचारिकतामा मात्रै सीमित नगरी बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरुको संरक्षणको सवालमा हासिल भएका उपलब्धीको चर्चा गर्नु आवश्यक छ । बाल अधिकारको प्रत्याभूतिबाट नै बाल दिवसको सार्थकतालाई मापन गर्न सकिन्छ । बालबालिका सम्बद्ध क्षेत्रमा बाल सहभागिताको सुनिश्चितता गर्न सकेमा बाललबालिकालाई आफ्नो अधिकार प्राप्त गर्न सहज हुन्छ । बालबालिकामाथि हुने विभिन्न प्रकारका दुव्र्यवहार अन्त्य गर्दै बाल संरक्षणको पक्षमा प्रभावकारी कदम चाल्न सक्नुपर्छ । बालबालिकाले घरपरिवारदेखि विद्यालय हुँदै सबै क्षेत्रबाट आफ्ना अधिकार पाउने ग्यारेन्टी हुनुपर्छ । बालबालिकालाई उनीहरुको अधिकार दिलाउन राज्यपक्ष गम्भीर हुनु आवश्यक छ । हरेक क्षेत्रलाई बालमैत्री बनाउँदै बालबालिकाको सहभागितामात्र होइन, उनीहरुका सबै अधिकार सुनिश्चित गर्नुपर्छ । हरेक बालबालिकाले सहजरुपमा आफ्ना अधिकार पाउने अवस्था बनेपछि मात्र बाल दिवस मनाउनुको सार्थकता हुनेछ ।