हेटौंडाः समुदायको सक्रियतामा सञ्चालित मकवानपुर बहुमुखी क्याम्पसको चालु आर्थिक वर्षको बजेट २४ करोड ११ लाख रुपैयाँ अनुमान गरिएको छ । हालै क्याम्पस सभाबाट चालु आर्थिक वर्षको बजेट पारित भएको हो । सोमबार क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गरेर क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले क्याम्पसको वस्तुस्थितिबारे जानकारी गराउनुहुँदै चालु आर्थिक वर्षमा १५ करोड ४९ लाख रुपैयाँ विद्यार्थीबाट शिक्षण शूल्कवापत आम्दानी हुने बताउनुभयो ।
प्रदेश र स्थानीय सरकारबाट २ करोड २६ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरेको क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट १ करोड ३६ लाख रुपैयाँ आम्दानी हुने क्याम्पस प्रमुख डा. उपाध्यायले जानकारी दिनुभएको छ । मकवानपुर क्याम्पसले प्राध्यापक, कर्मचारीको तलब, उपदानमा १३ करोड ८६ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । कक्षा ११, १२, स्नातक र स्नात्तकोत्तर तह पठनपाठन हुने क्याम्पसमा ६ हजार ३ सय २४ जना विद्यार्थी अध्ययनरत छन् । अझै कक्षा ११ को भर्ना जारी रहेकोले केही विद्यार्थी बढ्न सक्ने क्याम्पस प्रमुख डा. उपाध्यायले बताउनुभयो ।
मकवानपुर क्याम्पसले चालु आर्थिक वर्षमा ३ करोड ८९ लाख रुपैयाँ पुस्तक खरिद, फर्निचर खरिद, कार्यालय उपकरण, भवन निर्माणमा लगानी हुने जनाएको छ । यस्तै शिक्षण कार्यक्रममै २ करोड ९८ लाख रुपैयाँ खर्च हुने अनुमानित विवरण क्याम्पस प्रमुख डा. उपाध्यायले सार्वजनिक गर्नुभयो । क्याम्पसको वस्तुस्थितिबारे जानकारी गराउन आवश्यक ठानेर पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको उल्लेख गर्नुहुँदै क्याम्पस प्रमुख डा. उपाध्यायले भन्नुभयो, ‘विद्यार्थीबाट संकलित शूल्क, प्रदेश र स्थानीय सरकारको अनुदानवापतको रकम कहाँ, कसरी खर्च भइरहेको छ ? भन्ने जिज्ञासालाई भेटाउन पनि नियमित पत्रकार सम्मेलनमार्फत क्याम्पसको अवस्थाबारे जानकारी गराउछौं । यो सुरुवात हो ।’
मकवानपुर क्याम्पसमा कक्षा ११ र १२ मा बाणिज्य, शिक्षा, मानविकी र विज्ञान संकायमा २ हजार ४ सय ९२ जना, स्थातक तहमा बाणिज्य, विज्ञान, मानविकी र शिक्षाशास्त्र संकायमा ३ हजार ५ सय ६३ जना, स्नात्तकोत्तर तहमा २ सय ६९ जना विद्यार्थी अध्ययनरत छन् । मकवानपुर बहुमुखी क्याम्पसमा ८१ जना प्राध्यापक कार्यरत छन् भने ३२ जना कर्मचारी कार्यरत छन् ।
विद्यार्थीलाई स्तरीय नतीजा हासिल गर्न प्रेरित गर्ने गरी पुरस्कारवापत छात्रवृत्तिको कार्यक्रम लागु गरेको जानकारी गराउनुहुँदै क्याम्पस प्रमुख डा. उपाध्यायले भन्नुभयो, ‘गुणस्तरीय शिक्षाका लागि दक्ष जनशक्तिको रुपमा प्राध्यापकलाई एमफिल, विद्यावारिधी तहको अध्ययनको क्रममा अनुदान रकम प्रदान गर्ने कार्यक्रम लागु गरिएको छ । केही प्राध्यापकले एमफिल र विद्यावारिधी कार्यक्रममा सहभागी भएर यो कार्यक्रमको लाभ लिएका छन् ।’