हेटौंडाः हेटौंडामा नगरस्तरीय प्रथम त्रैमासिक परीक्षा आज मंगलबारबाट सुरु भएको छ । परीक्षामा ३६ विद्यालयका विद्यार्थी एकसाथ सहभागी भएका छन् । असोज ७ गतेसम्म सञ्चालन हुने नगरस्तरीय परीक्षामा कक्षा ४ देखि १० कक्षाका ७ हजार ४ सय ५५ विद्यार्थी सहभागी हुने नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाका अध्यक्ष सागरप्रसाद खतिवडाले जानकारी दिनुभएको छ ।
नगरस्तरीय परीक्षामा कक्षा ४ मा ७ सय ३४ जना, कक्षा ५ मा ९ सय ३२ जना, कक्षा ६ मा १ हजार १ सय ६१, कक्षा ७ मा १ हजार १ सय ६९, कक्षा ८ मा १ हजार २ सय ३७ जना, कक्षा ९ मा १ हजार १ सय ९१ र कक्षा १० मा १ हजार ३१ जना विद्यार्थी परीक्षामा सहभागी हुने बताइएको छ ।
हेटौंडा उपमहानगरपालिका क्षेत्रका ७१ वटा सामुदायिक विद्यालयमध्ये ३६ वटा विद्यालय मात्रै नगरस्तरीय शैक्षिक समन्वय समितिले सञ्चालन गर्ने परीक्षामा सहभागी हुँदैछ । २०५३ सालदेखि नगरस्तरीय शैक्षिक समन्वय समिति गठन गरी हेटौंडा नगर क्षेत्रका विद्यालयबीच परीक्षामा एकरुपता ल्याउने र उचित व्यवस्थापनको प्रयास भएको हो । नगरस्तरीय परीक्षामा हालसम्मकै सबैभन्दा बढी विद्यालय एकसाथ सहभागी हुन लागेको हो ।
नगरस्तरीय शैक्षिक समन्वय समितिले विद्यार्थीबाट संकलन गर्ने परीक्षा शूल्कबाटै परीक्षाको व्यवस्थापन गर्दै आएको छ । नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष सागरप्रसाद खतिवडाका अनुसार स्थानीय सरकारले स्वामित्व लिएर नगरस्तरीय परीक्षालाई व्यवस्थापन गर्न आवश्यक बजेट उपलब्ध गराए विद्यार्थीसँग परीक्षा शूल्क उठाउनै नपर्ने जीकिर गर्नुहुन्छ । नगरका सबै विद्यालयलाई नगरस्तरीय शैक्षिक समन्वय समितिमार्फत नै सहजीकरण गर्ने प्रयास भए परीक्षा मात्रै नभई समग्र शैक्षिक सुधारको काममा पनि उल्लेखनीय कार्य गर्न सकिने अध्यक्ष खतिवडाको भनाइ छ ।