कोभिड–१९ संक्रमणको त्रास कायमै रहेको अवस्थामा करिब २ महिनादेखि हेटौंडाबासीमा डेँगु रोग संक्रमणको त्रास थपिएको छ । पछिल्ला दिनहरुमा डेँगु रोग संक्रमण व्यापक बनिरहेको हुँदा महामारीको रुप लिने सम्भावना बढ्दै गएको छ । डेँगु रोग संक्रमण देशव्यापीजस्तै भए पनि हेटौंडामा यसको संक्रमण अत्यधिक बढिरहेको छ । सोमबारमात्र मकवानपुर जिल्लामा ६७ जनामा डेँगु संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ५९ जना हेटौंडा उपमहानगरपालिकाका छन् भने ८ जना थाहा नगरपालिकाका छन् । सोमबार मकवानपुरमा ४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । हेटौंडाका २ जना र इन्द्रसरोवर गाउँपालिकाका २ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । एकपछि अर्को महामारीले गाँज्दै जाँदा जनजीवन प्रभावित बनिरहेको छ । डेँगु तथा कोभिड–१९ संक्रमणको जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन । रोग संक्रमणको जोखिमलाई बुझेर प्रत्येक व्यक्ति आफैं सचेत बन्नुको विकल्प छैन । भाइरसजन्य दुईवटा प्राणघातक रोगको त्रासमा जीवनयापन गर्नु सहज छैन । तिब्र गतिमा फैलिने कोभिड–१९ को संक्रमण नबढोस् भनेर विगतमा सरकारले लामो समय लकडाउन गरेको भए पनि अहिले कोभिड तथा डेँगु संक्रमणको त्रासमा लकडाउनको सम्भावना छैन ।
भिडविरुद्धको खोपका कारण यसको संक्रमण र असर न्यूनीकरण हुँदै गएको अवस्थामा डेँगु संक्रमण चिन्ताजनक बनिरहेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेँगु रोगको कुनै खोप तथा औषधी छैन । डेँगु संक्रमणले पनि कोभिड–१९ संक्रमणजस्तै मानव शरीरमा बहुपक्षीय असर पार्दछ । कोभिड–१९ जस्तो एक संक्रमितबाट अर्को व्यक्तिमा डेँगुको भाइरस सर्दैन । तर, डेँगु संक्रमितलाई टोकेको लामखुट्टेले अर्को स्वस्थ व्यक्तिलाई टोक्दा यसको संक्रमण हुनसक्छ । लामखुट्टेकै टोकाइबाट सर्ने भएकाले डेँगुबाट बच्न लामखुट्टे नष्ट गर्ने र यसको टोकाइबाट बच्ने उपाय महत्वपूर्ण हुन्छ । मकवानपुर जिल्लाका एक हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको डेँगु रोगको संक्रमणबाट हेटौंडाका एक जना बालकको मृत्यु भएको पुष्टि भएको छ । केही दिनअघि डेँगु संक्रमण भएका बालकको मृत्यु भएको भए पनि उनको डेँगुकै कारण मृत्यु भएको/नभएको परीक्षण गर्दा डेँगुकै कारण मृत्यु भएको पुष्टि भएको हो । डेँगु संक्रमण व्यापक बन्दै गएपछि अहिले हेटौंडा अस्पतालमा मात्रै दैनिक ३ सय जनाको हाराहारीमा डेँगु रोग परीक्षण भइरहेको छ । यति धेरै संख्यामा मानिसहरु डेँगु परीक्षणका लागि आउनु सामान्य अवस्था होइन । डेँगु संक्रमणको जोखिम उच्च रहेको यसले पनि प्रमाणित गर्दछ । आफ्नो घर तथा टोलमा लामखुट्टे रहने र लामखुट्टेले प्रजनन गर्ने सम्भावित ठाउँहरु नष्ट गरेर लामखुट्टेको टोकाइबाट जोगिन सकेमा यसको संक्रमणको जोखिम कम हुन्छ ।
डेंगु सार्ने लामखुट्टे सफा पानी जम्ने स्थानमा बस्ने भएकाले हरेक घर तथा वरपर पानी जम्न नदिनु यसको रोकथामको प्रभावकारी उपाय हो । आम नागरिक आफैं सचेत भएर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घरभित्र तथा बाहिर रहेका भाँडा, बोतल, पुराना टायर, खुला ट्यांकीमा पानी जम्न नदिने गरेर लामखुट्टे उत्पादन क्षेत्र नष्ट गर्ने अभियान सबैतिर सञ्चालन गरिनुपर्छ । आ–आफ्ना घर वरिपरि सरसफाइ गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, पूरै बाउला भएको लुगा लगाउने, घरका झ्याल एवम् ढोकामा जाली लगाउने गरेमा यसको संक्रमण न्यूनीकरण गर्न सकिन्छ । डेँगु रोगको शंका लागेमा स्वास्थ्य संस्थामा सम्पर्क गरी परीक्षण गराउनु उचित हुनेछ ।