गुगल तस्बिर ।

हेटौंडाः मकवानपुरमा सोमबार ६७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा थप ६७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

सोमबार ६७ संक्रमित थपिएसँगैै जिल्लामा हालसम्म डेंगु पुष्टि हुनेको कुल संख्या १ हजार १ सय १२ जना पुगेको छ । सोमबार संक्रमण पुष्टि हुनेमा ५९ जना हेटौंडा उपमहानगरपालिकाका र ८ जना थाहा नगरपालिकाका रहेको जनाइएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार मकवानपुरमा अहिले डेंगु संक्रमण पुष्टि हुनेको संख्या बढिरहेको छ । अहिले दैनिक ३ सय जनाको परीक्षण गर्दा एक सय जनामा संक्रमण देखिने गरेको उहाँले बताउनुभयो ।

मकवानपुरमा अहिले डेंगु संक्रमित ५ हजारको संख्यामा रहेको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । अहिले जिउ दुखेको, ज्वरो आयो भन्ने केही बिरामीहरुले मात्र डेंगु परीक्षण गर्ने गरेको र परीक्षण गर्दा परीक्षणको करिब एक तिहाइमा संक्रमण देखिने गरेको उहाँले बताउनुभयो । उहाँले जिउ दुख्ने, ज्वरो आउने, वाकवाक लाग्नेजस्ता समस्या आएमा डेंगु संक्रमण भएको हुनसक्ने बताउनुभयो ।

डेंगु लामखुुट्टेको टोकाइबाट हुने बताउनुहुँदै उहाँले यसको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउनुपर्ने बताउनुभयो । उहाँले डेंगुबाट बच्न सुत्दा झुलको प्रयोग गर्नुपर्ने, घर वरपर पानी जम्न दिन नहुने बताउनुभयो । डेंगु रोग सार्ने लामखुट्टेले सफा पानीमा मात्र फुल पार्ने उहाँले बताउनुभयो । एक पटकमा एउटा लामखुट्टेले ३ सयसम्म फुल पार्ने र फुलमा पनि संक्रमण हुने उहाँको भनाइ छ । अहिले पानी पर्ने समय भएकाले अझै १ महिनासम्म डेंगुको प्रभाव रहनसक्ने उहाँले जानकारी दिनुभयो ।

सूचना अधिकारी घिमिरेले स्वास्थ्य कार्यालय मकवानपुरले अहिले डेंगु नियन्त्रण गर्न स्थानीय तहहरुलाई डेंगु किट खरिद गरी परीक्षण गराउन निर्देशन दिएको बताउनुभयो । सबै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरेर सबै विद्यालयहरुमा डेंगुबारे सचेतना कार्यक्रम गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।