आफ्नो न्यूनतम् सुविधा र पेशागत सुरक्षाको माग गर्दै अहिले विद्यालय कर्मचारी आन्दोलित छन् । भदौ १ गतेदेखि चरणवद्ध आन्दोलन सुरु गरेका कर्मचारीले आइतबारबाट एक साता लामो विद्यालय बन्दको आव्हान गरेका छन् । बन्द आव्हानका कारण मकवानपुरका अधिकांश विद्यालयको पठनपाठन प्रभावित भएको छ । कर्मचारीको आन्दोलनप्रति विद्यालयका शिक्षकले समर्थन समेत गरेका छन् । विद्यालय कर्मचारीको आन्दोलनको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद् मकवानपुरका अध्यक्ष राजन प्रसाद अधिकारीसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानी :
विद्यालय कर्मचारीहरु अहिले आन्दोलित छन् । तपाईहरुको माग के हो ?
अधिकारीः नेपाल विद्यालय कर्मचारी परिषद् अन्तर्गत सामुदायिक विद्यालयमा काम गर्ने देशभरका सम्पूर्ण कर्मचारीहरुको पूर्ण सेवा सुविधाका लागि हामीले आन्दोलन सुरु गरेका छौं । हामीले राज्यसँग कर्मचारी अन्तर्गत लेखापालको हकमा ३६ हजार ७ सय ३० रुपैयाँ र कार्यालय सहयोगीको हकमा २६ हजार २ सय १० रुपैयाँ सुविधा उपलब्ध गराउनका लागि आन्दोलित भएका छौं ।
अहिले तपाईहरुले के कस्तो सेवा पाइरहनु भएको छ ?
अधिकारीः हा सम्म हामीले अनुदानको रुपमा केन्द्रीय सरकारबाट १३ हजार ५ सय रुपैयाँ र स्थानीय सरकारबाट ७ हजार रुपैयाँ प्राप्त गरिरहेका छौं । त्यस्तै कार्यालय सहयोगीले केन्द्रीय सरकारबाट ८ हजार रुपैयाँ र स्थानीय सरकारबाट ७ हजार रुपैयाँ पाइरहेको छौं । यो सुविधा पनि २०७८ श्रावणदेखि मात्रै हो ।
त्यसो भए विद्यालयमा कर्मचारीको दरबन्दी छैन ?
अधिकारीः अहिलेसम्म दरबन्दी भनेर कुनै पनि विद्यालयमा दरबन्दीको श्रृजना गरिएको छैन । अनुदानको रुपमा रकम प्राप्त गरिरहेका छौं ।
पटक–पटक तपाईहरुको मागलाई सम्बोधन गर्ने गरी सम्झौता गरिए तापनि त्यो किन कार्यान्वयन भइरहेको छैन ?
अधिकारीः त्यसैको सन्दर्भमा ५१ बुँदे सहमति राज्यसँग पनि भएको हो र यो कार्यक्रम कार्यान्वयन पुस्तिकामा यो सहमति लागु नहुँदा हामी आन्दोलित भई विद्यालय बन्द गर्न बाध्य भएका छौं ।
अब पनि माग पुरा भएन भने तपाईहरुको आन्दोलनको आगामी कार्यक्रम के हुन्छ ?
अधिकारीः भदौ १२ गतेदेखि १८ गतेसम्म हामीले विद्यालय बन्दको कार्यक्रम सार्वजनिक गरेका छौं । सो अवधिमा पनि राज्यले हाम्रो माग सुनुवाई गरेन भने हामी १९ गतेदेखि बृहत रुपमा काठमाडौं केन्द्रित भई धर्ना तथा बिरोध कार्यक्रम गर्छौं ।
यसअघि पनि काठमाडौं केन्द्रित भई धर्ना तथा विरोधको कार्य गरिसक्नु भएको छ । फेरि त्यहि कार्य दोहोर्याउँदा तपाईहरुको माग पूरा होला र ?
अधिकारीः यसपटक अझ बढी संख्यामा उपस्थित भई व्यापकरुपमा धर्ना तथा विरोध जनाउँछौं ।
सरकारले तपाइँहरुलाई किन बेवास्ता गरिरहेको छ ?
अधिकारीः २०३६ सालदेखि नै हामी राज्यबाट पीडित छौं । २०३६ सालसम्म शिक्षक तथा कर्मचारीलाई समानरुपमा हेरिन्थ्यो भने २०३६ सालको आन्दोलन पश्चात कर्मचारीहरुको सेवा सुविधा कटौति गरी हामीलाई राज्यले विभेद गरेको छ । यो कुरा सार्वजनिक गरी पुनः राज्यबाट सेवा सुविधा प्राप्तिका लागि हामी अघि बढेका छौं ।
तपाईहरुको आन्दोलनप्रति अभिभावक र शिक्षकहरुको प्रतिक्रिया के छ ?
अधिकारीः शिक्षकहरु पनि हाम्रो मागप्रति पूर्णरुपमा सकारात्मक नै हुनुहुन्छ । हाम्रो बन्द कार्यक्रममा पनि पूर्ण समर्थन गर्नु भएको छ ।
विद्यालय नै बन्द गर्ने आन्दोलनप्रति अभिभावक असहमत छन्, रुष्ट छन् । तपाईहरुको माग तथा समस्याका विषयमा अभिभावकहरुलाई सम्झाउन, बुझाउन केहि प्रयत्न गर्नु भएको छ ?
अधिकारीः विद्यार्थीको पढाईमा बाधा नपुगोस् भनेर हामीले पहिले आन्दोलनका अन्य कार्यक्रम गरेका थियौं । अहिले पनि चाडवाडको बिदाको समयमा बन्दको आव्हान गरेका छौं । हाम्रा समस्या समाधान गर्न राज्यले जिम्मेवार भूमिका निर्वाह नगरेको अवस्था छ । बन्दसम्मको कार्यक्रम हामीले गर्न नपरोस् भन्ने ठानेका थियौं । अहिले हामीले आव्हान गरेको बन्दको पनि सरकारले जनै जिम्मेवारी लिनुपर्छ ।