हेटौंडाः हेटौंडामा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जना महिला सेनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया श्रृजना विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
आइतबार दिउँसो ३ बजेर ४५ मिनेटको समयमा पूर्व–पश्चिम सडकखण्डको हेटौंडा–९ मा हेटौंडाबाट बारातर्फ जाँदै गरेको ग २२ प ६१३ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ना ४ ख ९६०३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई ट्रकमा ठोकिएर दुर्घटना हुँदा बाइकमा सवार विक गम्भीर घाइते भएकी थिइन् । घाइते विकलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएकोेमा ४ बजेर १० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेकोे थियो ।
मृत्यु भएकी विककी श्रीमान् मोटरसाइकल चालक पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ घर भई नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २९ बर्षीय आदर्श विककोे भने हातमा सामान्य चोट लागेको छ । विककै ५ बर्षीय छोरा आशिक विकको पनि टाउकोमा सामान्य चोट लागेको छ । घाइते आदर्श र आशिकको अहिले हेटौंडा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता कार्कीले बताउनुभयो । ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।