विष्णुकुमारी लामिछाने, प्रमुख महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा हेटौंडा उपमहानगरपालिका

हेटौंडा उपमहानगरपालिकाले बालमैत्री उपमहानगर घोषणाको तयारी सुरु गरेको छ । यही साता सरोकारवालालाई अभिमुखीकरण गरेर सुरुवात गरेको अभियानले २०८० साल मंसिर महिनासम्ममा हेटौंडा उपमहानगरलाई बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ । बालमैत्री पालिका घोषणाको तयारी र आगामी योजनाका विषयमा समृद्ध समाज दैनिककी संवाददाता अस्मिता भट्टराईले हेटौंडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेसँग गरेको कुराकानीः

हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने तयारी सुरु गरिएको छ । यसका लागि प्रारम्भिक चरणमा के–के काम गरिँदैछ ?

लामिछानेः हेटौंडा उपमहानगरपालिकालाई २०८० साल मङ्सिरसम्ममा बालमैत्री पालिका घोषणा गर्ने भन्ने अभियानमा छौं । यसका लागि अभिमुखीकरण कार्यक्रम भइसकेको छ । अहिले नेपाल सरकार बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन घोषणा कार्यविधि २०७९ जारी गरेको छ र सोही निर्देशिका तथा कार्यविधि बमोजिम अगाडि बढाउनुपर्ने हुन्छ । जसमा ५१ वटा सूचक रहेका छन् र ती सूचकहरुमा रहेर तिनलाई चरणबद्ध पार गर्दै हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री बनाउने अभियानमा जुटेका छौं ।

हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणाका लागि चुनौतिहरु के–के छन् ?

लामिछानेः बालमैत्री पालिका बनाउन केही चुनौति छन् । बालविवाह प्रमुख चुनौतिको विषय हो । अहिले किशोर–किशोरी छिटो विवाह गर्ने समस्या छ र यो एउटा चुनौतिको रुपमा छ । हेटौंडा विभिन्न जिल्लाबाट आएर बस्ने ठाउँ भएकाले बालबालिका बालश्रमिकको रुपमा प्रयोग हुने भएकाले यो अर्को चुनौति छ । यस्ता धेरै चुनौतिलाई न्यूनीकरण गर्दै अगाडि बढ्नु छ ।

बालमैत्री घोषणाको अबको प्रक्रिया के हुन्छ ?

लामिछानेः हेटौंडा उपमहानगरपालिकाले बालबालिकाको वस्तुगत विवरण प्रकाशन गर्नुपर्ने हुन्छ । त्यसका लागि गणकहरु भर्ना गरेर वडा वडामा खटाएर बालबालिकाको अवस्था के छ भन्ने वस्तुगत विवरण प्रकाशन गर्नेछौं । वडामा सहजकर्ता नियुक्ति गर्ने र सहजकर्ता मार्फत बाल समूह सञ्जालहरु बनाउने र त्यसलाई सञ्जालीकृत गर्दै नगर स्तरको बालसमूह सञ्जाल बनाउँदै यो अभियान अगाडि बढाउने छौं । अभिभावक लगायत सबैलाई यसमा आमन्त्रण गरेर अभिमुखीकरण कार्यक्रम गदैं अभियान अगाडि बढाउने छौं । यसलाई घोषणाका लागि मात्र काम नगरेर आगामी दिनहरुमा नीति, योजना, कार्यक्रममा बालमैत्री हिसाब हरेक कुरालाई सम्बोधन गर्ने गरी अहिले हामी अगाडि बढेका छौं ।

आगामी योजनाहरु के–के रहेका छन् ।

लामिछानेः बालमैत्री पालिका घोषणाका लागि ५१ वटा सूचकहरु छन् । तिनै सूचकमा आधारित रहेर, केन्द्रित रहेर बालबालिकाको क्षेत्रमा अगाडि बढ्ने छौं ।