हेटौंडाः मकवानपुरमा भोलि शनिबार पहिलो पटक रग्बी खेल हुँदैछ । मकवानपुर रग्बी संघले आज शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लामा पहिलो पटक रग्बी खेल आयोजना गर्न लागेको जानकारी गराइएको छ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने खेलमा मकवानपुर रग्बी संघ र चितवन रग्बी संघका रग्बी टिमले मैत्रीपुर्ण खेल खेल्नेछन् । महिला रग्बी टिम र पुरुष रग्बी दुबै टिमले मैत्रीपुर्ण खेल खेल्नेछन् । पत्रकार सम्मेलनमा मकवानपुर रग्बी संघका अध्यक्ष लिला कुमार घलानले नवौं राष्ट्रिय खेलकुदका लागि छनौट अगाडी मैत्रीपुर्ण खेल हुन लागेको बताउनुभयो । खेलले दुई जिल्लाका खेलाडी बीच सम्बन्ध र मैत्रीभाव प्रकट हुने उहाँको भनाई छ । अहिले मकवानपुरमा रग्बी नयाँ खेल जस्तै भएकाले कुनै संघसंस्थाले यस खेललाई चासो नदिएको उहाँले बताउनुभयो । खेल आयोजना गर्न खेलाडीहरुसँग समेत रकम संकलन गरेको उहाँले बताउनुभयो । विस्तारै नेपालमा पनि रग्बी खेलको महत्व बढ्दै गएकाले सबै निकायले चासो दिनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै, जिल्ला खेलकुद विकास समिति मकवानपुरका निमित्त कार्यालय प्रमुख माधव कोइरालाले जिल्ला खेलकुद विकास समितिले रग्बी खेलको विकासमा आवश्यक सहयोग गरिने बताउनुभएको छ । अहिले खेलकुद विकास कार्यालयमा खेलकुद विकासका लागि बजेट कम रहेको बताउनुहुँदै प्रदेश खेलकुद विकासले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । आफु पनि खेलाडी भएकाले सबै खेलाडीको समस्या आफुले सजिलै बुझ्ने उहाँले स्पष्ट पार्नुभयो ।
यस्तै, रग्बी संघ मकवानपुरका प्रशिक्षक विक्रम भारतीले अहिले मकवानपुरका रग्बी खेलाडीहरुले नियमित प्रशिक्षण गर्दै आएको बताउनुभयो । रग्बी अन्य खेलको तुलनामा जिल्लामा नयाँ भएका कारण खेलाडीले थोरै मिहेनत गरेमा राम्रो स्थान पाउन सक्ने उहाँले बताउनुभयो । रग्बीमा मिहेनत गरेर खेलेमा यसैबाट भविष्यलाई निरन्तरता दिन सकिने सम्भावना रहेको उहाँले बताउनुभयो । यस अघि मकवानपुर रग्बी टिमले अन्य जिल्लाहरुमा आयोजना भएको प्रतियोगिताहरुमा भने सहभागिता जनाउँदै आएको थियो । मकवानपुरका पुरुष रग्बी टिमले गत बैशाखमा चितवनमा भएको प्रतियोगितामा द्वितीय हुन सफल भएको थियो । यस्तै महिला रग्बी टिमले गत वर्ष काठमाडौंमा आयोजना भएको प्रतियोगितामा प्रथम हुँदै उपाधी जितेको थियो ।
शनिबार हुने मैत्रीपुर्ण खेलमा मकवानपुर रग्बी टिमको पुरषतर्फको कप्तानी विकल भोलन र महिलातर्फको टिमको ज्योती बोम्जनले कप्तानी गर्नेछिन् । यस्तै चितवनको रग्बी टिमको पुरुषतर्फ यदु अधिकारी र महिलातर्फको टिमको पुस्तिका वाग्लेले कप्तानी गर्नेछिन् ।