अटो, मयूरीजस्ता तीनपाङ्ग्रे सवारी साधनको अत्यधिक संख्याका कारण हेटौंडामा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । साना–ठूला सवारीको चाप, सवारी चालकको लापरवाही, ट्राफिक नियमको उल्लंघन, जथाभावी यात्रुको आवागमनले सडकलाई असुरक्षित र अस्तव्यस्त बनाएको छ । बजार क्षेत्रका विभिन्न चोक तथा सडकमा सवारी जामको समस्या पनि बढ्दै गएको छ । बजार क्षेत्रमा सवारी साधन पार्किङको उचित व्यवस्थापन नहुँदा राजमार्गमै सवारी पार्किङ गर्ने क्रम बढ्दो छ । हेटौंडा बजार क्षेत्रमा रहेका विभिन्न राष्ट्रिय राजमार्गका सडकहरु सवारी चापअनुसार विस्तार नहुनुले पनि सवारी व्यवस्थापन जटिल बनिरहेको छ ।

हेटौंडा बजार क्षेत्रमा बढ्दो सवारी चापअनुसार आवश्यक पार्किङस्थल व्यवस्थापन गर्न नसके पनि हेटौंडा उपमहानगरपालिकाले पछिल्लो समय अटो तथा मयूरीजस्ता तीनपाङ्ग्रे सवारी व्यवस्थापनमा चासो देखाएको छ । उपमहानगरपालिकाले यसअघि उपमहानगर क्षेत्रमा सञ्चालन गर्ने गरी दर्ता गरेका अटो तथा मयूरीमा स्टीकर टाँसेर नियमन गर्न थालेपछि यस क्षेत्रमा सञ्चालन हुने सबै अटो तथा मयूरीहरु अनुमतिका लागि उपमहानगरपालिका पुगेका छन् । जिल्ला ट्राफिक कार्यालय मकवानपुरले अनुमतिप्राप्त स्टीकर नटाँसेका तीनपाङ्ग्रे सवारीलाई कारबाही गर्न सुरु गरेपछि ती सवारी चालकहरुले रोड पर्मिट माग्दै उपमहानगरपालिका घेराउ गरेका छन् । पहिलो आवश्यकता बनेको छ ।

हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र अटो तथा मयूरी व्यवसायी संघको सहमतिमा स्टीकर टाँस्ने कार्यको सुरुवात गरिएको हो । स्टीकर टाँसिएका अटो तथा मयूरीमात्र हेटौंडा उपमहानगरपालिका क्षेत्रमा चल्न पाउने सहमति गरिएको थियो । २०७६ पुस ६ गतेभन्दा अगाडि दर्ता र पर्मिट पाएका अटो र मयूरीमा मात्रै स्टीकर टाँसिएको छ । अभियान सुरु भएको करिब १० दिनमा एक हजारभन्दा बढी अटो तथा मयूरीमा स्टीकर टाँसिएको छ । हेटौंडा उपमहानगरपालिकाले २०७६ पुस ६ गतेभन्दा पछाडिका अटो मयूरीलाई हेटौंडा बजारले थेग्न नसक्ने निर्णय गरेको थियो । तर, त्यसपछि दर्ता भएका अटो तथा मयूरीले उपमहानगरपालिका र अटो तथा मयूरी व्यवसायी संघको उक्त सहमतिको बिरोध गरेका छन् । लाइसेन्स, इजाजतपत्र र मकवानपुर जिल्लाभरि चल्ने पाउने पर्मिट हुँदा पनि हेटौंडा उपमहानगरपालिकाभित्र चल्न नपाउने निर्णय गरिनु उचित नभएको भन्दै उनीहरुले बिरोध जनाएका हुन् ।

हेटौंडा बजार क्षेत्रमा अत्यधिक देखिएको तीनपाङ्ग्रे साना सवारी साधनको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ । हेटौंडाको जनघनत्व बढ्दै जाँदा यात्रुको सुविधाका लागि यस्ता तीनपाङ्ग्रे सवारी साधन सञ्चालन गरिएका हुन् । हेटौंडाको मुख्य बजार क्षेत्र तथा आसपासका बस्तीहरुमा प्रभावकारी सार्वजनिक यातायातको व्यवस्थापन नहुँदा साना सवारीको संख्या धेरै भएका हुन् । स्टीकर टाँसेर तत्काल तीनपाङ्ग्रे सवारीको चाप कम गर्न खोजिएको भए पनि यसले यात्रुलाई असुविधा पुग्ने निश्चित छ । राज्यकै एउटा निकायबाट अनुमति प्राप्त सवारी साधनलाई अर्को निकायले स्टीकरको नाममा अनुमति नदिनु समस्याको समाधान पक्कै होइन । बजार क्षेत्रमा सवारी व्यवस्थापनका लागि उपयुक्त पार्किङको प्रबन्ध, साना सवारी व्यवस्थापनसँगै शहरी यातायातका लागि ठूला सार्वजनिक सवारी साधन सञ्चालन उपयुक्त हुने तथ्यलाई हेटौंडा उपमहानगरपालिकाले ध्यान दिनु आवश्यक छ ।