हेटौंडाः हेटौंडा–८ मा सञ्चालनमा रहेको अनामिका खाद्य उद्योग बन्द गरी उत्पादन र वितरणमा रोक लगाईएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्व तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको समन्वयमा भएको अनुगमन टोलीले अनामिका खाद्य उद्योगलाई बन्द गरेको हो ।
अनुगमनको क्रममा अनामिका खाद्य उद्योग २०७६ असार मसान्तदेखि खाद्य अनुज्ञा पत्र नविकरण नगरेको पाइएको छ । उद्योगमा पूर्वाधार उपयुक्त नभएको कारण खाद्य पदार्थमा संक्रमणको जोखिम देखिएको अनुगमन टोलीले जनाएको छ । यस्तै, अनुगमनको क्रममा उद्योगको सरसफाईमा कमी रहेको र एक पटक उत्पादित वस्तु पुनः उत्पादनमा प्रयोग गर्ने गरेको भेटिएको छ । उद्योगको अनुज्ञा पत्र नविकरण र अन्य समस्या सुधार नगर्दासम्मको लागि उद्योग बन्द गरी उत्पादन र वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै हेटौंडा–८ मा सञ्चालित हेटौंडा दुग्ध वितरण आयोजना पुरानो संरचनाका कारण सरसफाईमा कमी, लेवलिङमा सुधार गर्नुपर्ने रहेकाले सरसफाई सुधार गर्न, संरचना मर्मत तथा रङरोगन गर्न र लेवलिङमा सुधार गर्न निर्देशन दिइएको छ ।
हेटौंडा–८ मा रहेको भ्याली पेलेट फिड. प्रा.लि. भ्याली ब्रान्डको एल–३ दाना ४५ बोरा (प्रति बोरा ५० किलो) १४ हजार ७ सय ५० रुपैयाँ मूल्य बराबरको दाना उपभोग्य अवधि समाप्त भएको भेटिए पछि नष्ट गरिएको छ । उक्त स्थानमा भ्याली ब्रान्डको एल–३ दाना २ सय ६० बोरा (प्रति बोरा ५० किलो) जम्मा ९ लाख २३ हजार रुपैयाँ मूल्य बराबरको दानामा उत्पादन र उपभोग्य मिति नखुलेको पाइएको र अर्को निर्णय नभएसम्मका लागि बिक्री वितरणका लागि रोक लगाइएको छ ।
यस्तै, अनुगमन टोलीले एन्टार्टिक बिस्कुट प्रा.लि.मा सरसफाईमा सुधार गर्न निर्देशन दिएको र खजुरीको नेपाल प्रा.लि. को सामान्य अवस्था रहेको जनाएको छ । बुधबार हेटौंडा औद्योगिक क्षेत्र भित्रका ५ उद्योगको अनुगमन गरिएको छ ।