नेपालमा सवारी दुर्घटना एउटा मुख्य समस्या बनिरहेको छ । वर्षेनि सवारी दुर्घटना र त्यसबाट हुने जनधनको क्षतिको आँकडा वृद्धि हुँदै गइरहेको छ । मकवानपुर जिल्ला पनि धेरै सवारी साधन दुर्घटना हुने जिल्लामा चिनिने गरेको छ । सवारी साधनको संख्या बढ्दै जानु र भएका सडक साँघुरा बन्दै गएपछि दुर्घटना पनि बढ्दै गएको छ । मकवानपुर जिल्लामा धेरैवटा राष्ट्रिय राजमार्ग तथा प्रशस्त सवारी साधन गुड्ने सडक भएका कारण सवारी चाप अत्यधिक रहेको छ । पूर्वपश्चिम (महेन्द्र) राजमार्ग, त्रिभुवन राजपथ, मदन भण्डारी लोकमार्ग (धरान–चतरा–हेटौंडा सडक), कान्ति लोकपथ, निर्माणाधीन काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)जस्ता राष्ट्रिय राजमार्ग मकवानपुर जिल्ला भएर गएको छ । अर्कोतिर हेटौंडालाई संघीय राजधानीसँग जोड्ने छोटो दुरीको सडक मार्ग हेटौंडा–भीमफेदी–कुलेखानी सडकलगायत विभिन्न ग्रामीण सडक सञ्जाल मकवानपुर जिल्लामा छन् ।
सोमबारमात्र पूर्वपश्चिम राजमार्गको रातोमाटे चेकपोष्ट नजिक एकै स्थानमा ५ वटा सवारी साधन दुर्घटना भयो । ट्रक, स्कूल बस, ट्याङ्कर तथा कार एकआपसमा ठोक्किएर झण्डै तीन दर्जन मानिस घाइते भए । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ट्रकले सोही दिशातर्फबाट आउँदै गरेको स्कूल बसलाई ठक्कर दिएको थियो । ठक्कर दिएको बस सडकमा साइड लाग्न जाँदा पुनः सोही ट्रकले विपरित दिशाबाट जाँदै गरेको ट्याङ्करलाई ठक्कर दियो । ट्रकको ठक्करबाट ट्याङ्कर सडकमा पाल्टिँदा ट्याङ्करकै दिशामा गइरहेको कारलाई थिच्यो । पुनः ट्रकले सडकमा रोकी राखेको टेलर ट्रकलाई समेत ठक्कर दिएको थियो । उक्त दुर्घटनाबाट मानवीय क्षति नभए पनि एकै स्थानमा एकै पटक ५ वटा सवारी साधन दुर्घटना हुनु भनेको सामान्य अवस्था होइन ।सडकमा बढ्दो सवारी चाप तथा सडक किनारमा जथाभावी सवारी साधन रोक्ने कार्यले यस्तो घटना भएको देखिन्छ ।
भौतिक वस्तु तथा जनशक्तिको ओसारपसार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, पर्याप्त रोजगारी सृजना गर्ने, मानिसको जीवनयापनलाई सहज बनाउने, देशकै आर्थिक समृद्धिमा टेवा पुर्याउने प्रमुख माध्यम सडक यातायात हो । सडक यातायात सुरक्षित हुनुपर्ने सर्वमान्य मान्यता छ । तर, विश्वभर नै सडक दुर्घटना हुने गरेको छ । नेपालमा त झन सडक दुर्घटना भयावह समस्याको रुपमा देखिन थालेको छ । नेपालमा हुने सवारी दुर्घटनाको सबैभन्दा मुख्य कारण चालकको हेलचेक्र्याइँ वा लापरबाही रहेको अध्ययनले देखाएको छ । तीव्र गतिमा सवारी चलाउने, जोखिम मोलेर अप्ठेरो बाटोमा सवारी हाँक्ने, कामको लोड, हेलचेक्र्याइँ तथा रिसाउने, प्राविधिक जाँच नगर्ने, कम उमेरमा हेभी सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने दुर्घटनाका कारण हुन् । जोखिमपूर्ण सडक, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने प्रवृत्तिका कारण पनि दुर्घटना निम्तिने गरेका छन् ।
सडकमा गुड्ने गाडीलाई नियम कानुन पालना गराउन नसक्दा दुर्घटना निम्तिएका छन् । मकवानपुर जिल्लाको पूर्वपश्चिम राजमार्गको विभिन्न क्षेत्रमा सडक दुर्घटनाको जोखिम देखिएका छन् । यस्तै, हेटौंडा–काठमाडौंको छोटो दुरीको सडकमा पनि दुर्घटनाको जोखिम बढी छ । यी सडकमा सवारी दुर्घटनाको जोखिम बढी हुनुमा अत्यधिक सवारी चाप हुनु, सडक साँघुरो हुनु, सडकको अवस्था राम्रो नहुनु र चालकले तिब्र गतिमा लापरबाही किसिमबाट सवारी साधन चलाउनु मुख्य कारक बनिरहेका छन् । सवारी दुर्घटना शून्य पार्न नसकिए पनि यसको न्यूनीकरणका लागि सबै पक्षको चासो र चिन्ता आवश्यक छ ।