हेटौंडाः हेटौंडा–७ नागस्वतीमा ४० वर्ष माथिका व्यक्तिहरुको राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नागस्वती भेट्रान्स क्लबको आयोजनामा भदौ १८ गतेदेखि नागस्वती राष्ट्रिय भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रतियोगिता नवज्योति माविको मैदानमा हुने भएको छ । प्रतियोगितामा १८ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा करिब १५ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको छ । हेटौंडा उपमहानगरपालिका तथा अन्य संघसंस्थाबाट सहयोगको अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष सोमबहादुर तितुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नुछन् । फाइनल खेलको मिति र खेल तालिका एकैसाथ प्रकाशन गरिने क्लबका सचिव प्रदीप गौतमले बताउनुभयो ।