हेटौंडा उपमहानगरपालिका क्षेत्रमा अटो तथा मयूरीजस्ता तीनपाङ्ग्रे सवारी साधनको भिडभाड निकै छ । बजारको सबैजसो सडकमा यस्ता सवारी साधन आवश्यकभन्दा बढी नै गुडिरहेका छन् । सवारी साधनको संख्या बढी हुँदा यात्रुलाई सहज हुने भए पनि यसले बजारको ट्राफिक व्यवस्थापनमा ठूलो समस्या भइरहेको छ । बजार क्षेत्रमा अटो तथा मयूरीका कारण सवारी चाप बढेसँगै यसको व्यवस्थापन अपरिहार्य भएको छ । यसै तथ्यलाई मध्येनजर गर्दै हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा सञ्चालन गर्न अनुमति प्राप्त तीनपाङ्ग्रे अटो तथा मयूरीमा स्टीकर टाँस्न सुरु गरेको छ । हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो तथा मयूरीको चाप न्यूनीकरण गर्ने उद्देश्यले स्टीकर टाँस्ने कार्यको सुरुवात गरिएको हो ।
हेटौंडा उपमहानगर क्षेत्रमा सञ्चालनको अनुमति नभएका तीनपाङ्ग्रे अटो तथा मयूरीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या भएपछि हेटौंडा उपमहानगरपालिकाको अग्रसरतामा व्यवस्थापनको प्रयास सुरु भएको छ । अटो तथा मयूरी व्यवसायी संघको सहमतिमा स्थानीय प्रशासन र प्रहरीको समन्वय र सहभागितामा व्यवस्थापनको कार्य सुरु भएको हो । बिहीबार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले अटोमा स्टीकर टाँस्ने कार्यको सुरुवात गर्नुभएको छ । हेटौंडा उपमहानगर क्षेत्रमा सञ्चालनको अनुमति पाएका करिब ७ सय अटो तथा मयूरी भए पनि अहिले ३ हजारभन्दा बढी संख्यामा अटो तथा मयूरी सञ्चालनमा रहेको अनुमान गरिएको छ । स्टीकर टाँस्ने कार्यले उपमहानगरको राजश्व आम्दानी बढ्नुका साथै ट्राफिक व्यवस्थापन सहज हुने विश्वास उपमहानगरपालिकाको छ ।
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालन हुने तीनपाङ्ग्रे सवारी व्यवस्थापनमा उपमहानगरले विगतमा पनि चासो दिएर केही नीति नियम बनाए पनि त्यो प्रभावकारी बन्न सकेको छैन । नीति नियमको कार्यान्वयन तथा अनुगमनमा पर्याप्त ध्यान नदिँदा प्रभावकारी बन्न नसकेको हो । करिब ४ वर्षअघि नै हेटौंडा उपमहानगरपालिकाले अटो तथा मयूरीमा स्टीकर टाँस गर्ने अभियान सुरुवात गरेको भए पनि त्यसले निरन्तरता पाउन सकेन । हेटौंडा बजार तथा आसपासको क्षेत्रमा सञ्चालन हुने अटो तथा मयूरीलाई उपमहानगरपालिकामा दर्ता गरी स्टीकर टाँस्ने तत्कालीन अभियान त्यतिकै सेलाएर गएको थियो । यसैगरी, विगतमा हेटौंडा उपमहानगरपालिकाले अटो तथा मयूरीको भाडादर निर्धारण गर्ने गरेको भए पनि अहिले त्यसले पनि निरन्तरता पाउन सकेको छैन । त्यसबेला पनि उपमहानगरपालिकाले तोकेको भाडादरसमेत लागू हुन सकेको थिएन भने अहिले अटो तथा मयूरीले मनलाग्दी भाडा लिने गरेका छन् ।
हेटौंडाको जनसंख्याको चापअनुसार उपमहानगरपालिकाले ठूला सार्वजनिक सवारी साधनको सञ्चालन गर्न/गराउन नसक्दा तीनपाङ्ग्रे सवारीको चाप वृद्धि भइरहेको छ । नगर क्षेत्रमा कुन प्रकारको कति सार्वजनिक सवारी साधन आवश्यक छन् र कति सञ्चालनमा छन् भन्ने यकिन तथ्यांकबिना सवारी व्यवस्थापन सम्भव छैन । आवश्यक सवारीका प्रकार र संख्याको उचित अध्ययन तथा लेखाजोखा नहुनु र दिनहुँ अटो तथा मयूरी थपिँदै जानुले यसको व्यवस्थापन जटिल बनिरहेको छ । जताततै सडकमा देखिने तीनपाङ्ग्रे सवारीको लस्करले यस्ता सवारी बढी भइरहेको अवस्थामा स्टीकर टाँस्ने अभियानले निरन्तरता पाएमा केही हदसम्म यसको प्रभाव देखिन सक्छ । उपमहानगरपालिकाले बजार क्षेत्रमा आवश्यक सार्वजनिक सवारीको प्रकार र संख्या निर्धारण गर्दै वैज्ञानिक भाडादर कायम गरी प्रभावकारी कार्यान्वयन गराउन सकेमा सवारी व्यवस्थापनमा सहजता हुनेछ ।