सांकेतिक तस्वीर ।

हेटौंडाः बागमती प्रदेशका १० जिल्लामा पछिल्लो एक वर्षमा सवारी दुर्घटनाबाट ४ सय १३ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्म भने ६६ सवारी दुर्घटना भएकोमा नौ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर) बाहेक १० जिल्लाहरुमा गत आर्थिक वर्ष २०७८/७९ मा १ हजार ७ सय ९८ सवारी साधन दुर्घटना हुँदा ४ सय १३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यो अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ७८ जनाले बढी हो । आर्थिक वर्ष २०७७/७८ मा १ हजार ५ सय १२ सवारी साधन दुर्घटना भएकोमा ३ सय ३५ जनाको मृत्यु भएको थियो ।

गत आर्थिक वर्ष २०७८/७९ मा प्रहरीले २ लाखभन्दा बढी सवारी साधनलाई कारबाही गरेर २४ करोड १ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै चालु आर्थिक वर्षमा १० हजारभन्दा बढी सवारी साधनलाई कारबाही गरी ८७ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय चितवनले सबैभन्दा बढी ४ करोड ९५ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै, गत आर्थिक वर्ष २०७८/७९ मा प्रदेश प्रहरीले ३ हजार ७ सय ७५ किलो गाँजा र १ सय ९९ किलो खैरो हिरोइन बरामद गरेको छ । यस्तै चालु आर्थिक वर्षमा ४ सय ७५ किलो गाँजा बरामद गरेको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी मकवानपुर प्रहरीले १ सय ४९ लागूऔषध मुद्दामा २ सय ३० जनालाई पक्राउ गरेको छ । यस्तै, गत आर्थिक २०७८/७९ मा ८ सय ४८ जना फरार अपराधीलाई पक्राउ गरी ६ करोड २८ लाख ९१ हजार ३ सय रुपैयाँ जरिवाना गरेको छ । यस्तै गत आर्थिक वर्ष २०७८/७९ मा ३६ वटा हातहतियारसहित २५ जनालाई पक्राउ गरिएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी ८ वटा हातहतियार मुद्दामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले १२ जनालाई पक्राउ गरेको छ ।

यस्तै, गत आर्थिक वर्ष २०७८/७९ मा प्रहरीले तस्करी नियन्त्रणतर्फ ६ करोड १२ लाख ८५ हजार ४ सय २८ रुपैयाँ बरामद गरेको छ । चालु आर्थिक वर्षमा १ करोड ६९ लाख ५१ हजार रुपैयाँ बरामद गरेको छ । गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय चितवनले ४ करोड ९० लाख ६३ हजार रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामद गरेको छ । चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय धादिङले ३ किलो ५ सय ५८ ग्राम सुनजस्तो पहेँलो धातु, २१ हजार १ सय ५० अमेरिकी डलरजस्तो देखिने नोटसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा सामुदायिकतर्फ ६ हजार ६ सय ५१ वटा कार्यक्रम सञ्चालन गरेको छ । जसमा २ हजार ७ सय ४ कोभिडसम्बन्धी, घरेलु हिंसासम्बन्धी ५ सय ५, सचेतनामूलक कार्यक्रम १ सय ५९ र आत्महत्या रोकथामसम्बन्धी ३ सय ८ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

बागमती प्रदेश प्रहरीले गत आर्थिक वर्ष २०७८/७९ मा २ सय ७६ विगाह १९ कठ्ठा ८ धुर क्षेत्रफलमा लगाइएको गाँजा र १ सय ६७ विगाहभन्दा बढी क्षेत्रफलमा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरिदिएको छ । यस्तै प्रदेश प्रहरीले विपद् घटनामा परी मृत्यु भएका १ सय २४ जना र १ सय २६ जना घाइतेमध्ये प्रहरीले ७८ जनाको मृत्यु उद्धार र ७७ जना घाइतेहरुको उद्धार गरेको थियो ।