हेटौंडाः मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडद्वारा सञ्चालित दुग्ध प्रशोधन परियोजना (डेरी उद्योग) सञ्चालनको अन्तिम चरणमा पुगेको छ । मंगलबार बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको उपस्थितिमा उद्योगबाट सफलतापूर्वक परिक्षण उत्पादन गरिएको छ । यस्तै, ६ करोड रुपैयाँ लागतमा निर्माण भएको उद्योगमा जडान भएका मेशिनको प्रारम्भिक परिक्षण समेत गरिएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा सञ्चालनको तयारीमा रहेको उद्योगलाई बागमती प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम(सिएमडिपी) र सहकारी संघको लगानीमा दुग्ध प्रशोधन उद्योग निर्माण गरिएको हो । परिक्षण उत्पादनका क्रममा प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष देवकोटाले जिल्ला दुग्ध उत्पादक सहकारी संघमा संकलित दूधलाई विभिन्न परिकार बनाई बजारीकरण गर्ने उद्देश्य अनुरुप उद्योग सञ्चालनको तयारीमा रहेको बताउनुभयो ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध र स्थानीय कृषकले उत्पादन गरेका कच्चा दूधलाई संकलन गरी दूधका परिकारहरु तयार गरी विक्री गरिने संघका अध्यक्ष बासुदेव अधिकारीले बताउनुभयो । अधिकारीले कृषकहरुलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउन दुग्ध उद्योग प्रभावकारी हुने बताउनुभयो । उद्योगमा दही, खुवा, आइसक्रिम, पनिर, घ्यु, नौनी, जिरा मोही उत्पादन हुने संघका व्यवस्थापक कुमारमणि दाहालले बताउनुभयो । करिब ६ करोड लगानीमा निर्माण भईरहेको उद्योगमा बागमती प्रदेश सरकारको ५७ लाख २० हजार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी)को एक करोड ७१ लख र सहकारी संघको करिब ३ करोड रुपैयाँ लगानी रहेको व्यवस्थापक दाहालले बताउनुभयो । “हामीले मेशिन परिक्षण गयौं केही मेशिन आउन बाँकी छ दशैंको समय पारेर सबै वस्तु उत्पादन हुने गरी उद्योग पूर्ण रुपमा सञ्चालन गर्छौ” – ब्यवस्थापक दाहालले भन्नुभयो । उद्योगमा एक सिफ्टमा १० हजार लिटर दूधको विभिन्न परिकार बनाउन सक्ने क्षमता रहेको संघका व्यवस्थापक दाहालले जानकारी दिनुभयो ।
जिल्लाका ६० वटा सहकारी संस्था आवद्ध रहेको दुग्ध सहकारी संघले दैनिक ४० हजार लिटर दूध खरिद बिक्रीका लागि सहजिकरण गर्दै आइरहेको छ । मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहाल, दुग्ध बिकास संस्थान हेटौंडाका आयोजना प्रमुख नबिन शर्मा, हेटौंडा डेरीका संकलन प्रमुख प्रदिप पौंडेल, दुग्ध सहकारी संघका सञ्चालकहरु, कर्मचारी, लगायत स्थानीयको उपस्थितिमा परीक्षण उत्पादन गरिएको थियो ।