डीबी बर्तौला

शिखा बुक्स, काठमाडौंद्वारा प्रकाशित तथा कवि महेश पौड्यालको सम्पादनमा माघमा विमोचित एघार कविका ११० ओटा कविताहरुको संग्रह ‘उज्यालोका मालीहरु’ छोटा र सटिक कविताको एक सशक्त संग्रह हो । भर्खर यो पुस्तक पढेर सकियो । १६ देखि २६ वर्षसम्मका युवाका वर्तमान समय र उनीहरुले भोगेको जीवनको सग्लो वर्णन कवितामा पाइन्छ । कुशल संयोजनका लागि महेश पौड्याललाई हार्दिक बधाई । एघार जना कविको कविताको सटिक टिपोट गर्ने दुस्प्रयास गर्दै छु । मेरो बुझाइ गलत हुन सक्छ
१) अदीप अधिकारी
मानवको असन्तुष्टि, भ्रम र अहम्को चिराफार गर्दै मानिसको भविष्य, प्रेम र उचाइको सांगोपांगो पर्गेल्न सक्नु कविको सवल पक्ष हो । उनका कवितामा जीवन बोलेको छ ।
२) अनिल खतिवडा
आशा, विश्वास र प्रेमको कविता लेख्ने खतिवडा कवितामा जीवन खोज्छन् र झिनामसिना विषयवस्तुसमेत कलात्मकताका साथ सरल ढंगमा कवितामा स्थान दिन्छन् ।
३) अर्जुन आचार्य
देशप्रतिको अगाध प्रेम र कविता भित्र जीवनको खोजी गर्न चाहने उनका कवितामा जादुयी शक्ति छ । कविताका अन्तिम हरफहरुले पाठकको हृदयलाई झ्वाट्ट हान्न सक्नु उनको काव्यिक लय हो ।

४) अजन मायालु
वर्तमान समयको होडबाजी र अहिलेको समयमा प्रत्येक युवाको पीडाहरुलाई सपाट ढंगमा कवितामा उतार्न सक्नु कवित्व शक्ति हो ।
५) दीपिका खतिवडा
यथार्थपरक ढंगमा अस्तित्वको खोजी र राष्ट्रियताले ओतप्रोत भावनाहरु कविताको मूल विषय बनाउने दीपिकासँग प्रशस्त सम्भावना देखि रहेको छु ।
६) निरज दाहाल
मृत्युको कलात्मक वर्णन गर्ने कवि दाहालका कवितामा दार्शनिक चेतना भेटिन्छ । दृश्यात्मकताको झल्को दिनु उनको कविताको वास्तविक शक्ति हो । उनले बाचेको समयको यथार्थ प्रस्तुत गर्न सक्नु नै निरजको पहिचान हो ।
७) प्रदीप योङहाङ
लाग्छ कविलाई यादहरुको नसा चढेको छ र बेलाबेलामा यादहरुले खुब हिर्काउँछ जस्तो छ । मसिना विषयवस्तुमा प्रभावशाली कविता लेख्नु प्रदीपको प्राप्ति हो । उनका कवितामा असामान्य तागत लुकेको देख्दै छु ।
८) मोहन संग्राम
संग्रामका कविताले नोस्टाल्जिक बनाउँछ । उनका कवितामा स्वयम् पाठक हराउँछ । थोरैमा धेरै दिन सक्नु उनको काव्यिक धर्म हो ।
९) रेहान खान
समयको कुरुप चित्र कवितामा उतार्न सक्ने रेहान खानका कविताले देशको वर्तमान तस्बिर खिचेको छ । स्वार्थी समाजको चरित्र उदांगो पार्दै जनता लडाएर फाइदा लुट्ने सत्ताधारीहरु माथि तीव्र व्यंग्य उनका कवितामा पाइन्छ ।
१०) शरद ऋतु
विम्व र प्रतीकको समुचित प्रयोग गर्ने सरदका कवितामा मानिसको दृष्टि भ्रम र विज्ञानको अध्ययनसँगै अरुको आस्था कुल्चेको तस्बिर देखिन्छ । प्रकृतिसँग कवि बेजोड लगाम राख्दछन् ।
११) सुदर्शन पौडेल
समाजमा व्याप्त अन्धविश्वास र विभाजनको कथा उनका कवितामा पाइन्छ । जिन्दगीको व्यथा, समयको आवाज र पश्चातापको रापलाई उनी कवितामा सरल र सहज भाषाशैलीमा टिपोट गर्दछन् ।

समग्रमा सबै कविहरु सशक्त प्रतिभा हुन् । सरल भाषा शैलीको प्रयोग गर्ने एघारै कविका कविता बेजोड छन् । युवा कविलाई प्रोत्साहन गरी अगाडि बढाउन दिनरात लागि पर्ने कवि महेश पौड्यालको सम्पादन कला तारिफ योग्य छ भने शिखा बुक्सका पुष्पराज पौडेल पनि बधाईका पात्र हुन् । सम्पूर्ण कविमा काव्यिक सफलताको कामना गर्दछु ।

(लेखक मकवानपुरको अगुवास साहित्यिक संस्था साहित्य संगम मकवानपुरको सचिव हुनुहुन्छ ।)